काठमाडौँ । World Health Organization को सर्वोच्च नीति निर्माण निकाय ७९औँ World Health Assembly मा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी पाउने भएको छ। आगामी जेठ ३ गतेदेखि १० गतेसम्म Geneva मा आयोजना हुने महासभामा नेपालले विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभावकारी उपस्थिति जनाउने तयारी गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री Nisha Mehta को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल भोलि जेनेभा प्रस्थान गर्दैछ। महासभामा नेपालका तर्फबाट मन्त्री मेहताले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाइएको छ।
यस पटक सरकारले वैदेशिक भ्रमणमा मितव्ययिता अपनाउँदै सानो र छरितो प्रतिनिधिमण्डल मात्र पठाउने निर्णय गरेको छ। विगतमा अन्तर्राष्ट्रिय कार्यक्रममा ठूला प्रतिनिधिमण्डल सहभागी गराउने प्रवृत्ति रहेको भए पनि, अहिले सीमित संख्यामा विज्ञ र आवश्यक अधिकारीहरू मात्र सहभागी गराइएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार ९ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्रीसहित केवल ३ जना अधिकारी मात्रै जेनेभा जानेछन् भने बाँकी ६ जना सदस्यहरू Permanent Mission of Nepal to the United Nations in Geneva बाटै सहभागी हुने व्यवस्था गरिएको छ।
नेपालबाट जाने टोलीमा मन्त्री निशा मेहता, स्वास्थ्य मन्त्रालयकी सहसचिव यशोदा अर्याल र सहसचिव डा. रोशन न्यौपाने रहेका छन्।
त्यस्तै, जेनेभास्थित स्थायी नियोगबाट राजदूत तथा स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी, उप-स्थायी प्रतिनिधि डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ्ग पराजुली, प्रथम सचिवद्वय श्रीकृष्ण सिलवाल र रोनल राई तथा द्वितीय सचिव सुजन लामिछाने सहभागी हुनेछन्।
सरकारको यो कदमलाई अनावश्यक भ्रमण खर्च कटौती गर्दै विदेशस्थित कूटनीतिक जनशक्तिको प्रभावकारी उपयोग गरिएको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ। “न्यून लागत, प्रभावकारी व्यवस्थापन” को नमुना प्रस्तुत गरेको भन्दै सरकारी वृत्तमा यसको प्रशंसा गरिएको छ।















