प्रतापपुर, नवलपरासी (ब.सु.प.) |
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–६ हरपुरस्थित मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालयमा आज दिक्षान्त समारोह (दस्तार आलमीयत तथा केरात) भव्य रूपमा सम्पन्न भएको छ।
समारोहका अवसरमा शैक्षिक सत्र सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। कक्षा १० र कक्षा १२ उत्तीर्ण गरेका अलिसा खातुन, अमिना खातुन, अश्मा खातुन लगायत २७ जना छात्रा तथा ३ जना छात्रहरूलाई सम्मान पत्र तथा प्रशंसासहित अभिनन्दन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मदरसा शिक्षा मूलधारिकरण अभियन्ता एवम पुर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खानले व्यावसायिक शिक्षा, जिवनाेपयाेगी शिक्षाकाे माध्यमबाट राष्ट्रवादी र देशप्रेमी नागरिक तयार गर्नु आजकाे आवश्यकता रहेकाे बताउनु भएकाे थियाे । त्यस्तै, अन्य वक्ताहरूले धार्मिक तथा आधुनिक शिक्षाको समन्वयमार्फत समाज रूपान्तरणमा मदरसाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई आगामी दिनमा पनि अनुशासन, मेहनत र नैतिकताका साथ अघि बढ्न प्रेरित गरे।
विद्यालयका प्रधानाध्यापक अमीर आजम मियाँले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२०८३ साल वैशाख २ गते बुधबार आयोजित उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई स्वागतसहित चिया–पानको व्यवस्था गरिएको थियो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।















