सर्लाही, बरहथवा — मानवतावाद, शान्ति र धर्मका प्रतीक चक्रवर्ती सम्राट अशोक महानको २३२८ औँ जन्मजयन्ती सर्लाहीको बरहथवास्थित कुशवाहा धर्मशालामा भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय कार्य समितिको २०८१ असोज १६ गतेको निर्णयअनुसार आयोजना गरिएको उक्त कार्यक्रम सचेत कुशवाहा युवा समाज, बरहथवाको अगुवाइमा तथा नेपाल कुशवाहा कल्याण समाज सर्लाही र बरहथवा नगर कमिटीको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमले ऐतिहासिक चेतना, सांस्कृतिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।
नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका जिल्ला अध्यक्ष लक्ष्मण महतो कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रपुर गाउँपालिकाकी उपाध्यक्ष तथा समाजकी केन्द्रीय सदस्य गीता देवी कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव वीरेन्द्रप्रसाद कुशवाहाले गर्नुभएको थियो।
दिउँसो १२:०० बजेदेखि सुरु भएको कार्यक्रमको प्रारम्भ सचेत कुशवाहा युवा समाजका प्रतिनिधि चन्देश्वर महतोले स्वागत मन्तव्यसहित गर्नुभएको थियो। त्यसपछि समाजका संयोजक तथा केन्द्रीय सदस्य, इन्जिनियर एवं प्राध्यापक भरतलाल महतोले सम्राट अशोकको जीवन, योगदान तथा ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रमका विशेष वक्ता नेपाल मगही भाषा फाउन्डेसनका अध्यक्ष तथा गोरखापत्रको मगही भाषा पृष्ठ सम्पादक डा. वीरबहादुर महतोले सम्राट अशोकको जीवनदर्शनलाई विस्तृत रूपमा व्याख्या गर्नुभयो। उहाँले अशोकको शासनकाल (ई.पू. २६८ देखि २३२) लाई विश्व इतिहासकै महत्वपूर्ण कालखण्डका रूपमा उल्लेख गर्दै मगध साम्राज्यको विशाल विस्तार (करिब ५२ लाख वर्ग किलोमिटर) र विशेषगरी कलिङ्ग युद्धपछिको आत्मपरिवर्तनलाई शान्ति, अहिंसा र धर्ममार्गतर्फको प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।
त्यसपछि विभिन्न वक्ताहरूले आ–आफ्नो धारणा राख्दै सम्राट अशोकको विचारधारालाई वर्तमान समाजमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा ‘फ्लोर ओपन’ सत्रसमेत सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूले आफ्ना विचार, अनुभव र समुदायप्रतिको प्रतिबद्धता खुला रूपमा व्यक्त गरेका थिए।

कार्यक्रममा कुल ३ सय ३२ जनाको उल्लेखनीय उपस्थिति रहेको थियो। सर्लाही जिल्लाका बरहथवा नगरपालिका, हरिवन नगरपालिका तथा बागमती नगरपालिका लगायतका विभिन्न स्थानबाट कुशवाहा समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रम साँझ ४:३० बजे औपचारिक रूपमा समापन गरिएको थियो। त्यसपश्चात साँझ ५:०० बजे सहभागीहरूले दही, च्युरा तथा तरकारीसहितको सामूहिक भोजन ग्रहण गरेका थिए, जसले आपसी सद्भाव र एकताको भावना थप प्रगाढ बनाएको आयोजकहरूले जनाएका छन्।
यसै अवसरमा साँझ ६:०० बजे बरहथवाको स्कुल चोकमा आकर्षक रंगोली सजावटसहित “चक्रवर्ती सम्राट अशोक महानको २३२८ औँ जन्मोत्सव” लेखिएको स्थलमा सयौं मैनबत्ती प्रज्वलन गरी दीपोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त दृश्यले सम्पूर्ण वातावरणलाई उज्यालो, शान्तिपूर्ण र प्रेरणादायी बनाएको थियो।
कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सदस्यहरू डा. सियाराम कुशवाहा, डा. राजेश्वर कुशवाहा, सुन्दर कला देवी कुशवाहा, भूतपूर्व केन्द्रीय कोषाध्यक्ष महेन्द्र महतो, कुशवाहा बुद्धिजीवी सेवा समाजका केन्द्रीय सदस्य श्याम सुन्दर महतो, नगर कमिटी अध्यक्ष विश्वनाथ कुशवाहा, पूर्व बरहथवा गाविस अध्यक्ष राम लोभीत सिंह, बरहथवा बहुमुखी क्याम्पसका प्रमुख राजनारायण कुशवाहा, दृढ संकल्प माध्यमिक विद्यालयका प्रिन्सिपल सन्तोष कुशवाहा, अर्मेन्द्र सिंह, डा. पीताम्बर महतो, ई. त्रिभुवन सिंह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समग्रमा, उक्त कार्यक्रमले कुशवाहा समुदायको गौरवशाली इतिहासलाई पुनर्जीवित गर्दै सामाजिक एकता, सांस्कृतिक पहिचान तथा भावी पुस्तामा सकारात्मक प्रेरणा प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा आफूलाई स्थापित गरेको आयोजकहरूको निष्कर्ष रहेको छ।















