
बर्दघाट,
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल नगर कार्य समिति बर्दघाट, बर्दघाट–७ पश्चिम नवलपरासीको आयोजनामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पश्चिम नवलपरासीका नवनिर्वाचित पदाधिकारीहरूलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ।
कार्यक्रम नगर कार्य समिति बर्दघाटकी अध्यक्ष माया तिवारीको अध्यक्षता तथा जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष बसन्त रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले परम्परादेखि चलिआएको लोक भजन संस्कृतिलाई लोप हुन नदिन यसको संरक्षण र प्रवर्द्धन गर्न सबैकाे सहयोग र निरन्तर लाग्नुपर्ने बताउनुभयो। उहाँले लोक भजन तथा चुड्का नेपाली मौलिक कला र संस्कृतिको पहिचान भएकाले नयाँ पुस्तालाई समेत यसतर्फ आकर्षित गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, नगर कार्य समितिले नवनिर्वाचित जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष तीर्थ सापकोटा, वरिष्ठ उपाध्यक्ष केयर सिंह गौतम, जिल्ला सचिव कृष्ण प्रसाद सापकोटा लगायतले परम्परादेखि गाउँदै आएका लोक भजन चुड्काले लोक संस्कृतिको जगेर्ना गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य नगर कार्य समिति बर्दघाटकी सह–सचिव रिता शर्माले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पप्पु रेग्मीले गर्नुभएको थियो ।















