छ पटक म्याद थप्दा पनि बनेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

117
file pic

भैरहवा, १४ असाेज ।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ६ पटक म्याद थप्दा पनि अझै सम्पन्न हुन सकेकाे छैन । निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियाे ।

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गरेका थिए ।

३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको हाे । ठेक्का लिएर निर्माण सुरु भएको ७ वर्षसम्म पूरा भएको छ । छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए ।

विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्राचार भएको आयोजना प्रमुख ई अधिकारीले बताए । “विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजना प्रमुख ईन्जिनियर अधिकारीले भने, “हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ । अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छाैँ ।”

विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।

विदेशी दक्ष जनशक्तिले विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ । धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिनलगायत उपकरण जडान, सुरक्षा पोस्ट सम्पन्न भइसकेको आयोजना कार्यालयले बताएको छ । आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभीलगायत सम्पूर्ण प्रविधि जडान गरिएको आयोजना कार्यालयको दाबी छ ।

तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्ने छन् । यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य सरकारले लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । तर चिनियां ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशनकाे लापरवाहीका कारण काम समयमा सम्पन्न नहुने स्थिति उत्पन्न भएकाे छ । दलीय स्वार्थका कारण सरकारकाे ध्यान नपुगेकाे बताइन्छ ।