
बर्दघाट, २४ जेठ ।
बर्दघाट नगरपालिका–७ स्थित नमूना टोल विकास संस्था र त्रिनेत्र टोल विकास संस्था पश्चिम नवलपरासीको आयोजनामा आईतवार सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नमूना टोल विकास संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा वडा सदस्य टंक प्रसाद उपाध्यायको रोहवर तथा संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा स्थानीयवासीहरूको सहभागितामा टोल सरसफाइ तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा सरसफाइको महत्वबारे जानकारी दिँदै टोललाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सबै स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियो ।
त्यसैगरी, त्रिनेत्र टोल विकास संस्था, जिमिरेभार बर्दघाट–७ को आयोजनामा पनि “सफा र सुन्दर शहर, तपाईँ–हाम्रो रहर” भन्ने मूल नारासहित सरसफाइ अभियान सञ्चालन गरिएको छ। वडा सदस्य टंक प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो ।
सरसफाइ अभियान अन्तर्गत सहभागीहरूले त्रिनेत्रेश्वर धाम मन्दिर परिसर लगायत त्रिनेत्र टोल क्षेत्रको सरसफाइ गर्नुका साथै जनचेतनामूलक ब्यानर सहित टोल परिक्रमा गरेका थिए। परिक्रमाका क्रममा आफ्ना घर, आँगन तथा टोल–समुदायलाई सधैँ सफा राख्न सबैलाई प्रेरित गरिएको थियो।
कार्यक्रममा वडा महिला सदस्य अम्बिका खनाल, समाजसेवी प्रकाश श्रेष्ठ, त्रिनेत्र टोल विकास संस्थाका सचिव गोपाल प्रसाद पौडेल, सदस्य फुनिया देवी थारू, कोषाध्यक्ष अप्सरा श्रेष्ठ, महिला स्वास्थ स्वयं सेविका, समाजसेवी राेमणी पाठक, कार्यक्रममा बाल क्लव, स्थानीयवासी, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले सरसफाइलाई अभियानका रूपमा मात्र नभई दैनिक जीवन शैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले स्वच्छ वातावरण निर्माणका लागि सबै नागरिकको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।















