
बर्दघाट, ३ जेठ २०८३ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा कमिटीले सरसफाई अभियान तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार बिहान सञ्चालन गरिएको कार्यक्रममा रास्वपा वडा कमिटीका सभापति महेश्वर लामिछानेको नेतृत्वमा पार्टीका कार्यकर्ता, स्थानीयवासी, समाजसेवी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अभियानअन्तर्गत नमुना टोल क्षेत्रका सडक, नाला तथा कुलो सरसफाई गरिएको आयोजकले जनाएको छ। वर्षायाम नजिकिँदै गर्दा पानी जम्ने स्थानमा लामखुट्टेको प्रजनन बढ्ने र त्यसबाट डेंगु, मलेरिया लगायतका रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको सभापति लामिछानेले बताउनुभयो।
उहाँका अनुसार कार्यक्रममार्फत स्थानीय नागरिकलाई वातावरणीय सरसफाईसँगै स्वास्थ्य सचेतनाको सन्देश समेत प्रवाह गरिएको थियो l “घरआँगन तथा सार्वजनिक स्थल सफा राखे धेरै रोगबाट बच्न सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले भने नगरपालिकाको फोहोर संकलन सेवा नियमित नहुँदा गाउँघरमा फोहोर थुप्रिने समस्या बढ्दै गएको गुनासो गरेका छन् । उनीहरूले फोहोर व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकासँग माग समेत गरेका छन ।
स्थानीयस्तरमै जनसहभागितासहित सञ्चालन गरिएको सरसफाई अभियानको टोलबासीहरूले प्रशंसा गरेका छन् ।















