चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (CSCEC) ले चार वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्यमा अपेक्षित प्रगति गर्न नसकेको जनगुनासो
बृजराज कुशवाहा, दाउन्ने —नवलपरासी ।
निरन्तरको वर्षा र त्यसपछिकाे पहिराेले नवलपरासीको दाउन्ने क्षेत्रस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा ठूलो असर पारेको छ। विश्वकर्मा बाबा र घ्युखाेला क्षेत्रमा सडक चिप्लो भएपछि र विनयी खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्गमा हाल २२ किलोमिटर लामो सवारी जाम लागेको छ। परिणामस्वरूप, यात्रुहरू घण्टौं जाममा फसेका छन् भने हिजाे साँझदेखि नै रोकिएका सवारी साधनहरू आज बिहानसम्म पनि अघि बढ्न सकेका छैनन्।
यो राजमार्ग नेपालकै अत्यन्त व्यस्त सडक मानिन्छ, जसले देशकाे पूर्वदेखि पश्चिमसम्मकाे यातायात सञ्चालनलाई जोड्ने कडीकाे काम गर्छ। तर, दाउन्ने खण्डमा वर्षायाम सुरु भएयता झनै समस्या देखिन थालेका छन्। पहाडीय भेगमा निर्माणकार्य अधुराे, पहिराेकाे पूर्वतयारीबिना गरिएकाे काम र पानी निकासको अभावले गर्दा सडक हरेक वर्ष झनै खतरनाक बन्दै गएको छ।
बुटवल–नारायणगढ ११५ कि.मी. सडक खण्डको विस्तारका लागि ठेक्का पाएकाे चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (CSCEC) ले चार वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्यमा अपेक्षित प्रगति गर्न नसकेको जनगुनासो छ। ठेक्का पाएको सुरुवाती चरणदेखि नै काममा लापरवाही, कामकाे गुणस्तरमा कमी, तथा जनसुरक्षाप्रति उदासीनता देखाउँदै आएको आरोप कम्पनीमाथि लाग्दै आएको छ।
यात्रुहरूको अवस्था दयनीय
अहिलेको अवस्था अत्यन्त चिन्ताजनक छ। ट्याक्सी, मोटरसाइकल, बस, ट्रकलगायतका सवारी साधनहरू २२ कि.मी लामो लाइनमा घण्टौं रोकिएका छन्। बालबालिका, वृद्ध, बिरामी र महिला यात्रुहरूका लागि पानी, खाना र शौचालय सुविधा नभएको अवस्थामा बस्नुपर्दा समस्याहरू झन् गम्भीर हुँदै गएका छन्। रातभरि जाममा बसेका यात्रुहरू शारीरिक थकानसँगै मानसिक तनावमा परेका छन्।
दाउन्ने क्षेत्रमा सडक चिप्लाे भएको छ, जसले जोखिम अझ बढाएको छ। कतिपय स्थानमा सवारी साधनहरू फसेका छन्, भने कतिपय दुर्घटना पनि भएका खबरहरू आएका छन्। विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि वैकल्पिक मार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको छ।
चिनियाँ ठेकदार कम्पनीकाे चरम लापरवाही: दाउन्ने सडक खण्डमा यात्रुको पीडा, राष्ट्रको क्षति
चिनियाँ निर्माण कम्पनीको चरम लापरवाही
स्थानीय बासिन्दा, सवारी चालक र नागरिक समाजले पटक–पटक आवाज उठाउँदा पनि निर्माण कम्पनीले जनगुनासोलाई बेवास्ता गर्दै आएको देखिन्छ। CSCEC ले सडक निर्माण गर्दा न त ड्रेनेज प्रणालीमा ध्यान दिएको छ, न त पहिरो नियन्त्रणकाे दीर्घकालीन योजना बनाएको छ। अस्थायी डाइभर्सन, कमजोर ग्राभेलिङ र मापदण्ड विपरीतका कार्यहरूले अहिलेको संकट निम्त्याएको स्थानीयहरू बताउँछन्।
“हामीले पटक–पटक निर्माण कार्य छिटो गर्न, गुणस्तरमा ध्यान दिन अनुरोध गर्यौँ, तर सुनेकाे छैन,” दाउन्ने क्षेत्रका एक स्थानीयले भने। “यसले जनताको ज्यान नै खतरामा पार्ने अवस्था आएको छ।”
सरकारी निकाय पनि मौन
यस्तो अवस्थामा निर्माण कम्पनी मात्र होइन, सरकार र सडक विभाग पनि जिम्मेवार छन्। ठेक्का दिएको संस्था CSCEC ले चार वर्षभित्र सम्पन्न गर्ने भनिएको योजना अझै पनि अधुरै छ। जनताको करबाट बनिरहेको आयोजना कछुवाको गतिमा हुनु र परिणामस्वरूप जनताको ज्यान जोखिममा पर्नु गम्भीर विषय हो।
यातायात व्यवस्था विभाग, सडक विभाग, गण्डकी र लुम्बिनी प्रदेशका सम्बन्धित निकायहरू यस विषयमा मौन देखिएका छन्। अनुगमन, निगरानी र समयमै कार्यप्रगति मूल्यांकन नगरेका कारण आज यस्तो अवस्था उत्पन्न भएको हो।
📌 प्रहरीले सूचना जारी गरि दाउन्नेकाे वैकल्पिक मार्ग प्रयाेग गर्न भनेकाे छ ।

माग: जवाफदेहीता र सुधार
स्थानीय नागरिक, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले निर्माण कम्पनीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथै, सडक सुधारको दीर्घकालीन योजना, सुरक्षाका मापदण्ड अपनाउने नीति, र यात्रुहरूका लागि आकस्मिक सेवा तथा सहायता केन्द्र स्थापना गर्न पनि माग उठेको छ।
सडक विकाससँगै जनसुरक्षालाई जोडेर हेर्ने नीति निर्माण नगरेसम्म, दाउन्ने खण्डजस्ता संवेदनशील स्थानहरू यात्रुहरूकाे मृत्युघण्टी बन्ने खतरा बढिरहेको छ।















