भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुल निर्माणका लागि दुवै देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पुल बन्नेगरी आज (मङ्गलबार) काठमाडौँस्थित भारतीय दूतावासमा दुवै देशका अधिकारीबीच हस्ताक्षर भएको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रीमती रेणुकुमारी यादवसमेत सहभागी थिइन् ।
परियोजनाले सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवैतर्फका समुदायबीचको सम्पर्क थप बलियो बनाउने दूतावासले जनाएको छ ।
‘यो परियोजना वाणिज्य, सांस्कृतिक तथा नागरिकबीचको सम्बन्ध सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको छ,’ दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पुल निर्माणको काम चाँडै सुरु गर्ने योजना रहेको पनि दूतावासले जनाएको छ ।





