
बर्दघाट, ८ जेठ २०८३ ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–४ बाढिपीडित क्षेत्रमा फेरि एकपटक फुटबलमय हुने भएको छ । स्थानीय युवा खेलाडीलाई अवसर दिने उद्देश्यसहित “चौथो अन्तर वडास्तरीय खुल्ला फुटबल प्रतियोगिता वडा अध्यक्ष कप २०८२/८३ आयोजना गरिने भएको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर–४ वडा कार्यालयको संरक्षकत्व तथा नवजीवन युवा क्लबको आयोजनामा प्रतियोगिता जेठ ९ गते शनिबारदेखि सुरु हुन लागेको हो ।
बाढिपीडितस्थित साविक माकर गाविस भवन नजिकै रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष चित्र बहादुर भण्डारीले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने र स्थानीय खेलमैदानको प्रचार–प्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिदै, उहाँले नगरका सबै वडाका खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याएर प्रतिभा उजागर गर्ने प्रयास गरिएको बताउनुभयो ।
प्रतियोगिताका लागि बर्दघाट वडा नं. ४ काे वडा कार्यालयले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु. ६१ हजार र उपविजेताले रु. ३१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, हाई स्कोरर, बेस्ट डिफेन्स र बेस्ट किपरलाई जनही रु. ३ हजार १ सय पुरस्कार प्रदान गरिनेछ भने अनुशासित टिमलाई रु. ५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक गुप्ता बहादुर सारुले जानकारी दिनुभयो ।
प्रतियोगितामा बर्दघाट नगरपालिका वडा नं. १ देखि १६ सम्मका १६ टोली सहभागी हुनेछन् । खेल हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य जनक रावलले वडाभित्र रहेका खेलकाे पूर्वाधार संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका क्लब र खेलमैदानलाई निरन्तर सहयोग गरिँदै आएको जानकारी दिनुभयो ।
प्रतियोगिताको उदघाटन खेल शनिबार वडा नं. २ र वडा नं. ४ बीच हुने आयोजकले जनाएको छ ।
नवजीवन युवा क्लबले खेलकुदसँगै रक्तदान, लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान लगायत सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको छ ।















