बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले बाहेक अरु कम्युनिस्ट पार्टी नै नभएको जिकिर गरेका छन् । उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनालहरू वामपन्थी नभई ‘हामपन्थी’ भएको आरोप लगाए ।
शनिबार गृहजिल्ला झापाको बिर्तामोडमा एमाले जिल्ला कमिटीले आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यस क्रममा उनले मुलुकमा अहिले एमाले बाहेक वामपन्थी नै नभएको दाबी गरेका हुन् । ‘कम्युनिस्ट सरकार ढालेर । वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू वामपन्थी हुन् ? कांग्रेस वामपन्थी हो ? कांग्रेसको पछि लाग्ने वामपन्थी हुन्छन् भने माउ चाहिँ त खाँटी वामपन्थी हुन्छन् होला नि त ?’ कांग्रेसको पछि लाग्नेहरू वामपन्थी नभई हामपन्थी भएको उनको आरोप थियो।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनाल एमाले नेतृत्वको सरकार ढाल्ने मुख्य आयोजक भएको पनि उनको आरोप थियो ।





