- गोर्खा मुद्दामा बेलायत अग्रसर, नेपाल मौन
लन्डन — भूतपूर्व गोर्खाहरूले आफ्ना माग सम्बोधनका लागि बेलायतले चासो देखाए पनि नेपाल सरकारले तत्परता नदेखाएको आरोप लगाएका छन् ।
बेलायत सरकारले यसअघि भएको सहमति अनुसार वार्ता प्रक्रिया अगाडि बढाउन किन ढिलाइ भएको छ भनेर नेपाललाई जिज्ञासा राख्दासमेत नेपालले वार्ता कमिटी गठन गर्न नसकेको भूतपूर्व गोर्खा र नागरिक समाजको गुनासो छ ।
नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्रीसहित सबै प्रमुख दलका नेताहरूसँग भेटेर आफ्ना माग र बेलायतको चासोबारे कुरा राखिए पनि नेपालले तदारुकता नदेखाएकोमा गोर्खा आक्रोशित छन् ।
भूतपूर्व गोर्खाहरूले यसअघि बेलायत सरकारविरुद्ध आन्दोलन भएकोमा अब नेपाल सरकार विरुद्ध पनि सडक आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।





