कारी महतो चितवन
असोज १५ । केहि दिन अघि विप्लव नेतृत्वको माओवादीले कालोमोसो दलेर दुव्र्यवहार गरेको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई रत्ननगर नगरपालिका वडा नं. ३ का सर्वसाधारण जनताहरुले फूलमाला र अबिर लगाएर सम्मान गरेका छन् ।
विभिन्न समयमा गाउँको विकास निर्माण कार्यमा उल्लेखनीय सहयोग गरेको भनेर वडा नं. ३ का नागरिकहरुले सम्मान गरेका हुन् । रत्ननगर नगरपालिका वडा नं. ३, बेल्सीमा निर्माण कार्य सम्पन्न भई पीच बाटोको उदघाटन तथा हरहिसाब सार्वजनिक सुनुवाई कार्यक्रममा उनलाई विशेषगरी महिला समूहका दिदीबहिनीहरुको पहलमा फूलमाला र अबिरजात्रा गरी सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई सम्मानित गर्नुपर्ने नै व्यक्ति भएकोले सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । उनले भने “यदि कुनै कर्मचारीले गलत गरे भने कानूनी रुपमा कारबाही गरिनुपर्छ तर अराजक ढंगले गरिने कुनै पनि कार्य गलत र निन्दनीय हुन्छ ।”
कार्यक्रमका विशिष्ट अतिथि साँसद सावित्री चौधरीले इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई गरेको अमानवीय ढंगको कार्यप्रति गहिरो दुःख व्यक्त गरिन् साथै उनले इन्जिनियरलाई आगामि दिनहरुमा कसैलाई काखापाखा नगरी अझ समान व्यवहार गर्नका लागि सुझाव दिइन् ।
असाेज १३ गते अायाेजित कार्यक्रमका अतिथि रत्ननगर नगरपालिकाका उपमेयर विमला दुवाडीले इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई जनताहरु कसैले पनि दोषी नठहर्याएका बताइन् । तर अराजक समूहले योजनाबद्ध तरिकाले घटना घटाएको जनाइन् । त्यस समूहले अघिल्लो दिन नै सिसि क्यामराको तार छिनाएकोले सिसि क्यामराबाट कुनै कुरा नदेखिएको बताइन् ।
कार्यक्रमका अतिथि माओवादी केन्द्र रत्ननगरका इन्चार्ज कन्चन खनालले नगरपालिकाको आफ्नै परिसरभित्रको कार्यालयमा क्रुरतापूर्वक र अन्यायपूर्ण तरिकाले उद्दण्ड व्यक्तिहरुको समूहबाट एउटा कर्मचारीमाथि निन्दनीय र ज्यादतीपूर्ण हर्कत हुँदा पनि सुरक्षा दिन नसकेकोमा स्थानीय सरकारप्रति आक्रोश व्यक्त गरिन् ।
सम्मानित व्यक्ति रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले राज्यले सुरक्षा नदिए प्राविधिक कर्मचारीहरु काम गर्नसक्ने अवस्था नरहेको बताए । आफूलाई दुव्र्यवहार गर्ने समूह मागेर खाने वर्ग र चन्दा नमागी खानै नपुग्ने भिखारीहरु भएकोले त्यस्ता अराजनीतिक वर्गलाई राज्यले कारबाहि गर्नुपर्ने बताए । उनले आफूले किटानीका साथ जाहेरी दिंदा पनि प्रहरी प्रशासनले पक्राउन गर्न नसकेको गुनासो व्यक्त गरेका छन् ।
कार्यक्रममा वडाअध्यक्ष गोविन्द भट्टराई, नेकपा एमाले वार्ड कमिटिका अध्यक्ष ऋषवराज थपलिया, समाजसेवी उत्तम आचार्य, वडा नागरिक मञ्चका संयोजक कृष्ण प्रसाद पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बेल्सी कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । सामाजिक काम गर्दा जश नपाउने भएता पनि आत्मसन्तुष्टीको लागि अगुवाई गरेको कुरा विकासले बताए । बाटो कालोपत्रे मात्र नभई सामुदायिक भवन बनाउँदा देखि बाटोको दुवैतर्फ ढल निर्माण गर्दा बजेट अपुग भएको समयमा पनि इन्जिनियर ढुंगानाले सहयोग गरेको कुरा अध्यक्ष विकासले बताए ।
७६० मिटर लम्बाईको कालोपत्रे बाटो करीब ३० लाखको लागतमा निर्माण भएको हो । त्यसमध्ये साँसद शेषनाथ अधिकारीको निर्वाचन क्षेत्र विकास कोषबाट २० लाख, रत्ननगर नगरपालिकाबाट ३ लाख र बाँकी रकम उपभोक्ताहरुबाट उठाएर निर्माण सम्पन्न गरिएको कुरा निर्माण समितिका सचिव दर्शन चौधरीले जानकारी गराए । कार्यक्रममा शिक्षा राज्यमन्त्रीले नगरपालिकाको सहयोगमा निर्माण भएको खानेपानीको समेत उदघाटन गरे ।