इन्जेक्सन दिएलगत्तै विरामीको मृत्यु

12

कारी महतो, चितवन, भरतपुर १३ ।

सामान्य ढाड दुखेको भनेर भरतपुर स्थित नारायणी सामुदायिक हस्पिटलमा भर्ना भएका विरामीलाई इन्जेक्सन दिए लगत्तै मृत्यु भएको छ । मृत्यु हुने विरामी भरतपुर महानगरपालिका वडा नं. २६, सिसईका अन्दाजी ५० वर्षीय लक्ष्मण चौधरी हुन् ।

एकदिन अगाडि बेलुका ८ बजेतिर इमरजेन्सीमा स्वास्थ्य परिक्षणपछि मेडिकल वार्डमा भर्ना भएका विरामीलाई हिजो दिउँसो १२ः३० बजेतिर इन्जेक्सन दिएको थियो । इन्जेक्सन दिएको पाँच मिनेट भित्रै उनको स्वास्थ्य स्थिति झन नाजुक भएपछि तुरुन्तै आइसियु कक्षमा लगिएको थियो । आइसियुमा लैजादै गर्दा विरामीको मृत्यु भएको हो ।

इन्जेक्सन दिए लगत्तै विरामीले मुखबाट फिंज निकाल्न थालेको कुरा विरामीका ३२ वर्षीय छोरा सुनिल चौधरीले बताए । आफन्तहरुले विरामीलाई गलत औषधी दिएको भनेर आरोप लगाएको थिए । औषधीको खोल माग्दा अस्पतालले नदिएपछि हिजो दिनभरि आफन्तले शव उठाएका थिएन ।

अस्पतालको कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले विरामीको मृत्यु औषधीले नभई हर्ट एट्याकबाट भएको भनेर स्पष्टीकरण दिएका छन् । आफन्तहरुले हिजै बेलुका ६ बजेतिर शव बुझीलिएका छन् । शव दाहसंस्कार हिजो राती नै गरिएको मृतकका भाई जनक चौधरीले जानकारी दिए ।