बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित बाढीपीडित क्षेत्रमा फेरि एकपटक फुटबलको माहोल तातिने भएको छ । स्थानीय युवाहरूलाई खेलमार्फत अवसर प्रदान गर्ने उद्देश्यले “चौथो अन्तर वडास्तरीय खुल्ला फुटबल प्रतियोगिता वडा अध्यक्ष कप २०८२/८३” आयोजना गरिने भएको हो ।
बर्दघाट नगरपालिका वडा नं. ४ कार्यालयको संरक्षकत्व तथा नवजीवन युवा क्लबको आयोजनामा प्रतियोगिता जेठ ९ गते शनिबारदेखि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता बाढीपीडित क्षेत्रमा रहेको साविक माकर गाविस भवन नजिकको खेल मैदानमा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष चित्रबहादुर भण्डारीले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै स्थानीय खेलमैदानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नगरका विभिन्न वडाका खेलाडीलाई एउटै प्लेटफर्ममा ल्याएर प्रतिभा उजागर गर्ने प्रयास गरिएको बताउनुभयो ।
प्रतियोगिताका लागि वडा नं. ४ कार्यालयले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ६१ हजार रुपैयाँ तथा उपविजेताले ३१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, हाई स्कोरर, बेस्ट डिफेन्स र बेस्ट किपरलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । अनुशासित टिमलाई ५ हजार १ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक गुप्ता बहादुर सारुले जानकारी दिनुभयो ।
प्रतियोगितामा बर्दघाट नगरपालिका वडा नं. १ देखि १६ सम्मका १६ टोलीको सहभागिता रहनेछ । खेल हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य जनक रावलले स्थानीय सरकारले खेल पूर्वाधार संरक्षणमा विशेष ध्यान दिँदै कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका क्लब तथा खेलमैदानलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल शनिबार वडा नं. २ र वडा नं. ४ बीच हुने आयोजकले जनाएको छ ।
नवजीवन युवा क्लबले खेलकुदसँगै रक्तदान, लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियानलगायत विभिन्न सामाजिक गतिविधि पनि सञ्चालन गर्दै आएको छ ।















