काठमाडौं,— नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ।
२०७९ सालको संघीय तथा प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको पराजयमा भूमिका खेलेको आरोप लागेका खनाललाई केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार एक वर्षका लागि पार्टी सदस्यता रद्द गरिएको हो।
खनालले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई चुनावमा असहयोग गरेको उजुरी परेपछि समितिले स्पष्टिकरण मागेको थियो। तर, खनालको जवाफ चित्तबुझ्दो नठहरिएपछि केन्द्रीय अनुशासन समितिले आवश्यक प्रमाणको आधारमा कारबाही गर्ने निर्णय गरेको हो।
अनुशासन समितिका सभापति आनन्दप्रसाद ढुंगानाले कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा खनालमाथिको कारबाही नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) बमोजिम गरिएको उल्लेख गरिएको छ।
यस विषयमा असार १६ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत छलफल भएको थियो। कारबाही हुने सूचना पाएपछि खनालले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध गरिएको कारबाही अन्यायपूर्ण र सुनियोजित भएको दाबी गरेका थिए।















