भारतले श्रीलंकालाई ६५ हजार मेट्रिक टन युरिया मल सहयोग गर्ने

53

काठमाडौँ । भारतले श्रीलंकालाई ६५ हजार म्याट्रिक टन युरिया मल दिने भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलंकालाई मल उपलब्ध गराइने जानकारी दिए  । 

श्रीलंकालाई खाद्य संकट परिरहेका बेला आगामी दिनमा यो संकट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए । भारतले ‘छिमेकी प्रथम’ नीतिअन्तर्गत छिमेकी राष्ट्रहरूलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाइ छ । “भारतले दिने निर्णय भएको मल श्रीलंकाले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ,” उनले भने । 

भारत र श्रीलंकाका उच्च अधिकारीहरूका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलंकालाई खाद्य सुरक्षा, औषधि व्यवस्थालगायत विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा आन्तरिक खाद्य उत्पादनसमेत अत्यन्त न्यून भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रबार श्रीलंकालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरू किन्न नसकेको, आयात गर्न नसकेको र देशभित्र पनि अत्यधिक मूल्य वृद्धि भएको लगायत कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूलाई अनुरोध गरेको थियो ।

श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य वृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । आर्थिक संकटका कारण बहुआयामिक संकटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायत अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलंकालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायत धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो । रासस