सरकारले मलाई जेल हाल्न खोज्दैछः पूर्वप्रधानमन्त्री खान

50

एजेन्सी, २५ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाएका छन् ।

पीएमएल–एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताएका छन् । वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उनले दाबी गरे । ‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस्, ’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहनुस’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उनले भने ।  

निर्वाचन घोषणा नहुन्जेलसम्म वास्तविक स्वतन्त्रताका लागि आन्दोलनमा होमिन पनि उनले समर्थकहरुलाई अनुरोध गरेका थिए । प्रधानमन्त्री शहबाज शरीफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको प्रसंग कोट्याउँदै पूर्वक्रिकेटरसमेत रहेका इमरानले अभियुक्त आफ्नै मुद्दामा न्यायाधीश बनेको आरोप लगाए ।