बर्दघाट, २४ पुष ।
बर्दघाट उद्योग वाणिज्य संघले यहि पुस २९ गते देखि माघ ९ गतेसम्म पाँचौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । संघले आज आफ्नै च्याम्वरमा पत्रकार सम्मेलनको आयोजनागरी मेला लगाउने तयारी गरेको जानकारी गराएको थियो।
बर्दघाट–४,हरियाली नगरमा रहेको बर्दघाट मण्डवमा आयोजना गरीने मण्डवमा आयोजना गरीने मेला कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न, यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । कोरोना कहरका कारण अस्थिर बनेको आर्थिक क्षेत्र अबमेलाका कारण केही मात्रामा चलायमान हुने आयोजकले विश्वास लिएको जनाएको छ ।
करिब ३ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाईल्स, ईलेक्टोनिक्स, तथा ईलेक्ट्रिकल्स, मोवाईल सूचना प्रविधि, फर्निचर, तथा फर्निसिंगको सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । दुई सय स्टल रहने उक्त मेलामा करिब एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बर्दघाट उद्योग वाणिज्य संघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभयो ।
मेलामा बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । विद्यार्थीलाई टिकटमा सहुलियत दिईनेछ भने कृषि र महिला उद्यमीलाई स्टल निःशुल्क प्रदान गरिने बर्दघाट उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजु न्यौपानेको स्वागत,महासचिव दिनेश न्यौपानेको सञ्चालन रहेको थियो भने संघका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।





