काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भएका प्रदर्शन र पछिल्ला घटनाक्रमबारे मूल्याङ्कन तथा समाधानका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले हिजो राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले कुनै पनि किसिमको हिंसा राष्ट्रको हितमा नहुने भन्दै संवाद र शान्तिपूर्ण माध्यमबाट मात्र समस्याको समाधान खोज्न सकिनेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले भनेका छन्, “हिजो राजधानी र देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति म दुःखी छु। कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा हुँदैन। शान्तिपूर्ण संवाद नै समाधानको मार्ग हो। उत्पन्न परिस्थितिको मूल्याङ्कन र सार्थक निस्कर्षका लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको छु।”
साथै उनले उत्पन्न विषम परिस्थितिमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई संयमित रहन समेत अपिल गरेका छन्।















