प्रदेश २ का मुख्यमन्त्री राउत र उपेन्द्र यादव विरुद्ध नाराबाजी

61

असोज १४, जनकपुरधाम ।

मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठक स्थलमा धर्ना दिँदै नाराबाजी गरेका छन् ।

मधेश आन्दोलनका शहीद परिवारकाे मागप्रति बेवास्ता गरेकाे र प्रदेश सरकारले पटक–पटक आश्वासन मात्रै दिने गरेकाे बताएका छन् । यसअघि भदौ ११ गते जसपाकै कार्यक्रममा धर्ना दिन आएको बखत जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले एक साताभित्रै माग पूरा गरिदिने आश्वासन दिएका थिए ।

जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा बाेलाइएकाे थियाे । उनीहरुले वीर शहीद अमर रहुन्, शहीद परिवारको माग पूरा गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, उपेन्द्र यादव मुर्दावादसहितका नारा लगाएका थिए ।

माग सम्बाेधन नगरेकाले पुनः आन्दोलनमा आउनुपरेको मधेशी शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष नरेश राय यादवले बताए । यादवका अनुसार ‘मधेशी शहीद स्मृति प्रतिष्ठान गठन गर्नुपर्ने, नियुक्ति पत्र दिएका शहीद परिवारलाई जागिर दिनुपर्नेसहितका माग पूरा गर्ने आश्वासन तीन बर्षदेखि दिँदै आएपनि पूरा गर्न नसकेको यादवले बताए ।

माग पूरा नभए बुधबारैदेखि पुनः बसेर पुत्ला दहन, मसाल जुलुस प्रदेश सरकारको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम तय गर्ने उनले बताए ।

मधेश आन्दोलनमा आफ्ना छोरा गुमाएका सिरहाको लहान नगरपालिकाका मुस्तकिमले मधेश आन्दोलन दिवसको अवसरमा २०७६ साल माघ ५ गते मुख्यमन्त्री आफैंले नियुक्ति पत्र दिएपनि हालसम्म जागिर पाउन नसकिएको बताए ।

मुस्तकिमले आफ्नो छोराको शालिक बनाउँदा उपेन्द्र यादवले २ लाख ५० हजार रुपैयाँ दिने आश्वासन दिएपनि हालसम्म एक पैसा समेत पाउन नसकेको बताए ।

रौतहटमा छोरा गुमाएकी असगरी खातुनले पनि नियुक्ति पत्र पाएपनि जागिर पाउन नसकेको बताइन् ।

आफ्ना पति गुमाएकी सर्लाही मलगंवाकी शकुन्तला ठाकुरले जितिया पर्वको दिन पनि आफूलाई नारा लगाउन आउनुपरेको बताइन् । ‘हाम्रो छोराछोरी के गरिरहेका छन् प्रदेश सरकारलाई कुनै मतलव छैन’ उनले भनिन्, ‘माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं ।’

आफ्नो पति गुमाएकी सर्लाहीकै मीनादेवी साह छोरीलाई क्यान्सर हुँदा पनि उपचारका लागि प्रदेश सरकारले सहयोग नगरेको बताइन् । ‘अहिलेसम्म रु ७ लाख ऋण लिएर छोरीको उपचार गराएको छु’ उनले भनिन्, ‘मुख्यमन्त्रीले दिने आश्वासन मात्रै दिनुभयो । तर, दिनुभएन ।’

शहीद परिवार दिउँसो २ बजेदेखि बैठकस्थलमा धर्ना एिका छन् । तर साँझसम्म कसैले वास्ता नगरेको उनीहरुले बताए ।