विराटनगर — जोगवनी नाकाबाट रिफाइन तेल र जुटका तयारी वस्तुको निकासी बढेको छ । उक्त नाकाबाट विशेषगरी रिफाइन तेल, जुटका तयारी वस्तु, पीपी ओभन, जिआई र नुडल्स जस्ता सामग्री निकासी हुँदै आएको छ ।
निकासीका लागि उत्पतिको प्रमाण पत्र जारी गर्ने मोरङ व्यापार संघ र उद्योग संगठनको तथ्याङ्क अनुसार चलु वर्षको सात महिनामा जोगवनी नाकाबाट १२ अर्ब ३६ करोड ३७ लाख २६ हजार मूल्यको रिफाइन तेल निकासी भएको छ । गत वर्षभरी यो नाकाबाट १६ अर्ब २८ करोड ५० लाख मूल्यको रिफाइन निकासी भएको थियो । अघिल्लो वर्ष ११ अर्ब ९ करोड मूल्यको रिफाइन तेल निकासी भएको तथ्याङ्क छ ।
भारतमा रिफाइन तेलको माग बढेकाले गत वर्षदेखि निकासी पनि बढेको हो । सम्बद्ध उद्योगीका अनुसार अहिलेकै अवस्था कायम रहे असारसम्ममा करिब २० अर्ब मूल्य बराबरको रिफाइन तेल निकासी गर्ने लक्ष्य छ । भारतले पाम आयल निकासीमा लगाएको प्रतिबन्द्ध फुकुवा गरेपछि रिफाइन तेलको निकासी बढेको हो ।
नेपाली जुटका तयारी वस्तुमा भारतमा एन्टी डम्पिङ शूल्क पाँच वर्ष देखि लाग्दै आए पनि निकासी बढदो छ । चालु वर्षको सात महिनमा जोगवनी नाकाबाट ५ अर्ब मूल्य बराबरका जुटका तयारी वस्तु निकासी भएको छ । गत वर्ष भरीमा जोगवनी नाकाबाट ७ अर्ब १९ करोड मूल्यका जुटका तयारी वस्तु निकासी भएको थियो ।
नेपाली जुटका तयारी वस्तुमा भारतले पाँच वर्षदेखि एकदेखि चार प्रतिशतसम्म एन्टी डम्पिङ शूल्क लगाउँदै आए पनि निकासी घटेको छैन । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, ‘चालु वर्ष ८ अर्ब मूल्य बराबरका जुटका तयारी वस्तु निकासी गर्ने लक्ष्य छ ।’ उनका अनुसार भारतले एन्टी डम्पिङ शूल्क हटाउने हो भने निकासी अझै बढ्छ । नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् । सुनसरी मोरङ औधोगिक क्षेत्रका ११ जुट मिलमध्ये हाल ६ वटा सञ्चालनमा छन् ।





