काठमाडौँ, १५ फागुन
भट्टराई पक्षधर जसपाका कार्यकारणी सदस्य प्रशान्त सिंहले पार्टीअध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सिमीत भएकाले पनि पार्टी फुटको संघारमा पुगेको आरोप लगाएका छन् । त्यस्तै डा. भट्टराईले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले यसले वैचारिक विवाद सुरु भएको उनले बताए ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढ्नुका थुप्रै कारणहरू छन् । आन्तरिक विवाद यतिसम्म चर्किएको छ कि एउटै पार्टीभित्र भट्टराई र यादव पक्षका नेताले तर्क राख्दै आएका छन् । पार्टीमा विवाद बढ्नुका कारणबारे यादव र भट्टराई पक्षका नेताहरूका आ-आफ्ना बुझाइ छन् ।
‘लोकतान्त्रिक पद्धतिमा सामूहिक छलफल गरेर अघि बढ्नुपर्ने हो । तर, यादवले एकलौटे प्रवृत्तिले पार्टी चलाउन थाल्नुभयो‚’ उनले भने‚ ‘मुलुकलाई समृद्धितिर उन्मुख गराउन अध्यक्ष यादवजीले खासै चासो दिनुहुन्न । जस्तैः एमसीसीको पक्षमा उहाँ मौन हुनुहुन्छ । अहिलेसम्म संसदीय दलको बैठक बसेको छैन । न त छलफल नै चलेको छ । केन्द्रीय बैठक त दुई वर्षदेखि कराउँदा-कराउँदा फागुन १३ गते बोलाउनुभएको छ ।’
अध्यक्ष यादवले संघीयताको मर्मअनुसार गतिविधि नगरेको भन्दै सदस्य सिंहले प्रदेश, स्थानीय तहलाई अधिकार दिने तर, त्यसको नियन्त्रण केन्द्रले गर्ने सोच र व्यवहारले गर्दा मनमुटाव बढेको बताए ।
त्यस्तै यादव पक्षधर अर्का नेता तथा जसपा कार्यकारणी सदस्य प्रकाश अधिकारी भने पार्टीमा विवाद नै नभएको बताउँछन् । ‘विचारको राजनीति हुनु स्वभाविक हो । तर, मनमुटाव छैन‚’ उनले भने‚ ‘पार्टीको विधानमा पार्टीलाई समावेशी चरित्रको बनाउने भनिएको छ । दुई अध्यक्ष राख्ने भनिएको छ । तर, कुन जातिको राख्ने ? भनिएको छैन । त्यसैले जातीय अध्यक्ष राख्न जरुरी छैन ।’
अध्यक्ष यादवको स्वविवेक र आवश्यकताअनुसार बैठक बस्ने भन्दै सदस्य अधिकारीले यसमा दबाब सिर्जना गर्नुपर्ने जरुरी नभएको बताए । ‘पार्टीको अध्यक्ष विधानअनुरूप नै कार्यशैलीमा हुनुहुन्छ । कुनै वेथिति छैन । यी सबै हावा कुरा हुन्‚’ उनले भने‚ ‘अध्यक्ष उपेन्द्रजीले के गर्नु भयो भन्दा पनि पार्टी संघीयता संरचनालाई सम्मान गर्छ; अध्यक्ष पनि त्यही दिशामा सक्रिय हुनुहुन्छ ।’





