काठमाण्डाै, २४ असाेज ।
घरेलु हिंसापीडित महिलाको हत्या अनुसन्धान हुनुपर्ने लगायतका माग राख्दै नेपालगञ्जदेखि काठमाडौं आएको टोलीसँग सरकारले वार्ता गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ ।
गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभएको हो । आज आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले त्याे घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिककाे जीवन रक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली नागरिकले अनाहकमा जीवन गुमाउन नपरोस् भन्नेमा हामी गम्भीर छौँ । नागरिककाे जीवन रक्षाका लागि, महिला दिदीबहिनीहरूको रक्षाका लागि राज्य र सरकार गम्भीर छ । यी भएका घटनाहरूको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुनअनुसार नै कारबाही हुन्छ ।’
गृह मन्त्री खाणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको बताउनुभयाे ।
त्यस क्रममा महिला अधिकारकर्मीहरूले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।





