बुटवलमा प्रहरीसँगको झडपमा ४ चार जनाको मृत्यु, १४ घाइते, अनिश्चितकालीन कर्फ्यू

19

२४ असोज, बुटवल ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा भएकाे झडपमा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको छ । झडपका क्रममा १४ जना घाइते भएका थिए । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएकाे झडपमा परेर घाइते भएकालाइ उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा ५ जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा ३ जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप १ जनाको उपचारका क्रममा ज्यान गएको मेडिकल कलेजका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिनुभयो ।

सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् । अरूको भने पहिचान खुलेको छैन । पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको गुरुङले बताउनुभयो । ज्यान गुमाएका चारै जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी प्रहरीमाथि जाइ लागेका थिए । त्यही बेला झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन ।

आइतबार बेलुका ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको खुलाए । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।

प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।

यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो ।