सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् ।
प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।
राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण उनले विश्वासको मत पाएका हुन् ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको थियो ।
जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मतको प्रस्ताव राखेका थिए ।





