अफगानिस्तानको काबुलमा मस्जिद नजिकै विस्फोट

14

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद नजिकै बम हमला हुँदा केही सर्वसाधारण मारिएको बताइएको छ । अलजजिराका अनुसार आइतबार राजधानी काबुलस्थित इद गाह मस्जिदको प्रवेशद्वार नजिकै हमला भएको हो । तालिबान अधिकारीहरुले घटनाको पुष्टि गरेका छन् । तर कतिको मृत्यु भयो भन्ने बारे यकिन भइसकेको छैन ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदकी आमाको स्मृति सम्बन्धी कार्यक्रम भइरहँदा उक्त हमला भएको बताइएको छ । हमलामा तालिबान सुरक्षाफौजमाथि भने कुनै क्षति नभएको बताइएको छ । घटनाबारे छानबिन भइरहेको तालिबानले जनाएको छ ।

स्थानीयहरुले भने इद गाह मस्जिद नजिकै ठूलो आवाजमा बम विस्फोट भएको आफूहरुले सुनेको भन्दै अन्तर्राष्ट्रिय मिडिया समक्ष प्रतिक्रिया दिएका छन् । घटनामा केही घाइते समेत भएको समाचार छ । घाइतेहरुलाई नजिकका अस्पतालमा लगिएको छ ।

विस्फोटको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन । यद्यपि तालिबानले अगस्ट १५ मा सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आईएसआईएलका लडाकूहरुको आक्रमण बढेको छ । तालिबानले भने सरकार गठन गर्नुअघि नै अफगानिस्तानमा कुनै पनि सशस्त्र समूहले हिंसात्मक गतिविधि बढाउन नपाउने चेतावनी दिएको थियो ।