काबुल —आइतबार उत्तर काबुलस्थित एक हजारभन्दा बढी अफगान नागरिकहरुले तालिबान सरकारको समर्थनमा शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शनमा सबै पुरुष मात्रै छन् ।
उक्त र्यालीलाई काबुलको पहाडी क्षेत्र कोहदमनमा तालिबानका उच्च नेताहरुले सम्बोधन गरेका थिए । तालिबानले सत्ता कब्जा गरेपछि सरकारको समर्थनमा पहिलोपटक यसरी आम प्रदर्शन भएको हो ।
प्रदर्शनको क्रममा रकेट लन्चरसहितका हतियार र झण्डा बोकेका तालिबान लडाकूहरुले परेड समेत गरेका थिए । प्रदर्शनलाई अत्याधुनिक हतियारसहित ठूलो संख्यामा तालिबान सुरक्षा फौजले पहरा समेत दिएका थिए । प्रदर्शनको क्रममा अमेरिकाविरोधी नारा र गीत संगीतसमेत घन्काइएको थियो ।
गत बिहीबार पूर्वी काबुलमा महिला अधिकारकर्मीहरुको शान्तिपूर्ण प्रदर्शनलाई तालिबान सरकारका फौजले हवाई फायरिङ गर्दै नियन्त्रणमा लिएका थिए। अफगानिस्तानमा तालिबान सरकार गठनसँगै महिलाका अधिकार कटौती गरेपछि तालिबान सरकार आलोचित बन्दैआएको छ । विशेषगरी महिलाहरुलाई शिक्षा, पहिरन र सार्वजनिक स्थलमा घुमफिरका लागि तालिबान सरकारले कडा कानुन लागू गरेको छ । जसले गर्दा अधिकारकर्मीहरुले यसको आलोचना गर्दैआएका छन् ।





