
बर्दघाट, पश्चिम नवलपरासी।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आइतबार बर्दघाटमा अन्तरधार्मिक सद्भाव र्याली आयोजना गरेको छ।
हालै देशका केही स्थान, विशेषगरी सुनसरी लगायतका क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकताप्रति चिन्ता बढिरहेका बेला बर्दघाटमा भने सबै समुदाय एकै ठाउँमा उभिएर शान्ति, सहिष्णुता र भाइचाराको सशक्त सन्देश दिएका हुन्।
लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी अध्यक्ष सुधा ज्ञवालीले बर्दघाटमा सबै धर्म, जात र समुदायबीच आपसी सद्भाव कायम रहेको उल्लेख गर्दै, देशभर पनि यही वातावरण कायम रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। ज्ञवालीले कुनै पनि प्रकारका विभाजनकारी गतिविधिले समाजलाई कमजोर बनाउने भएकाले सबै नागरिक एकताबद्ध हुनुपर्ने बताउनुभयो।
बर्दघाटको त्रिवेणी चोकबाट सुरु भएको र्यालीमा हिन्दु, मुस्लिम, ईसाई, हरे कृष्ण लगायत विभिन्न धर्म तथा समुदायका नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली राष्ट्रिय झण्डा र सद्भावका सन्देश बोकेका प्लेकार्डसहित “राष्ट्रिय एकता कायम गरौं”, “धार्मिक सहिष्णुता हाम्रो पहिचान” लगायतका नाराहरू लगाउँदै त्रिवेणी बसपार्क, नगरपालिका, पाँचकुने हुँदै बर्दघाट बजार पुगेर कोणसभामा कार्यक्रम सम्पन्न गरेका थिए।
कोणसभामा मुस्लिम समुदायका अगुवा करिम खान, हिन्दु समुदायका पण्डित खेमनाथ गुरु तथा ईसाई समुदायका पास्टरले आ–आफ्नो धारणा राख्दै विविधताबीचको एकताले नै समाजलाई बलियो बनाउने उल्लेख गरे। उनीहरूले धर्म फरक भए पनि मानवता, शान्ति र भाइचारा सबैको साझा मूल्य भएको भन्दै आपसी सम्मान र सहिष्णुतालाई अझ सुदृढ बनाउन आग्रह गरे।
लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी सचिव कविता रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष ज्ञवालीले सामाजिक सद्भावबिनाको समाजको कल्पना गर्न नसकिने बताउँदै सबै समुदाय मिलेर शान्तिपूर्ण र सभ्य समाज निर्माणमा योगदान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण नागरिकप्रति उहाँले आभार व्यक्त गर्नुभयो।


















