चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि सहमति जुटाउने प्रयास अन्ततः असफल भएको छ। आकांक्षीहरूबीच जिम्मेवारी बाँडफाँटमा सहमति नजुटेपछि पदाधिकारी चयन निर्वाचनमार्फत गर्ने तयारी गरिएको छ।
सभापति रवि लामिछानेले बुधबार रातिदेखि पदाधिकारीका आकांक्षीहरूसँग निरन्तर छलफल गर्दै सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेका थिए। सहमतिको सम्भावना रहेको भन्दै निर्वाचन आयोगले केही समय निर्वाचन प्रक्रिया स्थगितसमेत गरेको थियो। तर अन्तिम समयमा पनि सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया पुनः अघि बढाउने निर्णय गरिएको हो।
पार्टीका नेता कवीन्द्र बुर्लाकोटीका अनुसार उपसभापति र महामन्त्री पदमा आकांक्षीको संख्या बढी भएकाले सहमति जुटाउन कठिन भएको हो। उनका अनुसार सभापतिले उम्मेदवारी फिर्ता लिन इच्छुक नेताहरूलाई अन्य जिम्मेवारीमार्फत व्यवस्थापन गर्ने विकल्पमा समेत छलफल गरेका थिए। तर आकांक्षीहरूले त्यसमा सहमति जनाउन नसक्दा सहमतिको प्रयास सफल हुन सकेन।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले उम्मेदवारहरूको समानुपातिक सूची मिलाउने काम भइरहेको र बिहान १० बजापछि निर्वाचन प्रक्रिया अघि बढाइने तयारी रहेको जानकारी दिए। उनले सहमति नजुटेको औपचारिक जानकारी प्राप्त भइसकेको र चितवनमै रहेका प्रतिनिधिहरूले मतदानको अधिकार प्रयोग गर्न पाउनुपर्ने माग गरेकाले निर्वाचनमार्फत नै पदाधिकारी चयन हुने सम्भावना बलियो बनेको बताए।
यद्यपि, महाधिवेशनका अधिकांश प्रतिनिधि चितवन छाडिसकेकाले मतदान प्रक्रियामा उनीहरूको सहभागिता कति हुने भन्ने विषय भने चासोको विषय बनेको छ।
















