25.3 C
New York
Tuesday, May 19, 2026

Buy now

spot_img
spot_img

नवलपरासीका उखु किसान संकटमा

- Advertisement -

चिनी उद्योगसँग ५४ करोडभन्दा बढी बक्यौता अड्किँदा मल, सिँचाइ र गोडमेल प्रभावित

बृजराज कुशवाहा, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानहरूले चिनी उद्योगबाट पाउनुपर्ने झण्डै ५४ करोड रुपैयाँ बक्यौता रकम नपाउँदा खेती नै संकटमा परेको गुनासो गरेका छन् । उद्योग सञ्चालकहरूले भुक्तानी दिन आलटाल गरिरहेका बेला किसान भने युरिया मल, बिउ र सिँचाइको खर्च जुटाउन गाउँ–गाउँमा ऋण खोज्दै भौतारिन बाध्य भएका छन् ।

उखु खेतीको मुख्य सिजनमा आवश्यक लगानी जुट्न नसक्दा खेतमा गोडमेल रोकिएको, समयमा मल हाल्न नपाइएको र सिँचाइ प्रभावित बनेको किसानहरूको भनाइ छ । उता उद्योग सञ्चालकहरूले भने “चिनी बिक्रीको उपयुक्त वातावरण नबनेको” तर्क गर्दै भुक्तानी टारिरहेका छन् ।

सबैभन्दा बढी बक्यौता लुम्बिनी चिनी उद्योगको

सुनवलस्थित लुम्बिनी चिनी उद्योगले चालु सत्रमा मात्रै करिब ४२ करोड १० लाख रुपैयाँ बराबरको झण्डै ७ लाख क्विन्टल उखु खरिद गरेको थियो । तर उद्योगले अझै करिब २७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी राखेको किसानहरूको दाबी छ ।

यति मात्रै होइन, उद्योगले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को समेत करिब ६० लाख रुपैयाँ बक्यौता अझै नतिरेको बताइएको छ ।

यसले गर्दा किसानमा सबैभन्दा बढी असन्तोष लुम्बिनी चिनी उद्योगप्रति देखिएको छ । किसानहरूका अनुसार उद्योगले वर्षौंसम्म रकम रोकेर राख्दा उनीहरू ऋणको चक्रमा फसिरहेका छन् ।

वागमती खाँडसारीको १८ करोडभन्दा बढी बक्यौता

कुडियास्थित वागमती खाँडसारी चिनी मिलले चालु आर्थिक वर्षको मात्रै करिब १७ करोड रुपैयाँ किसानलाई दिन बाँकी राखेको छ ।

त्यसैगरी विगत आर्थिक वर्ष २०७७/७८ को २५ लाख, २०७९/८० को ५० लाख र २०८०/८१ को २५ लाख समेत गरी करिब १ करोड रुपैयाँ बक्यौता अझै बाँकी रहेको वागमतीका महाप्रबन्धक काफ्लेको भनाइ छ ।

किसान संगठनका प्रतिनिधिहरूका अनुसार उद्योगले पटक–पटक भुक्तानी गर्ने आश्वासन दिए पनि व्यवहारमा कार्यान्वयन नगर्दा किसानको विश्वास गुम्दै गएको छ ।

इन्द्रा सुगर्स र तत्व फार्म पनि विवादमा

भुक्तानी नै नदिएर उद्योग बन्द गरी फरार रहेको आरोप खेपिरहेको इन्द्रा सुगर्स मिलबाट किसानले आर्थिक वर्ष २०८१/८२ को अझै करिब ६ करोड रुपैयाँ पाउन बाँकी रहेको बताएका छन् ।

त्यस्तै, तत्व फार्म कठहवाले आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि किसानका अनुसार आर्थिक वर्ष २०८१/८२ को करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ ।

यसरी जिल्लाका ४ वटा उद्योगले मात्रै किसानको ५४ करोड रुपैयाँभन्दा बढी रकम रोकेर राखेको देखिन्छ ।

खेती नै धरापमा

उखु खेती नगदे बाली मानिए पनि समयमै भुक्तानी नपाउँदा किसानको आर्थिक चक्र नै बिग्रिएको छ । जेठ महिनामा गोडमेल, मल हाल्ने र सिँचाइ गर्ने समय भए पनि अधिकांश किसानसँग नगद अभाव छ ।

किसानहरूका अनुसार बैंक तथा सहकारीबाट ऋण लिने क्षमता घटेको छ भने स्थानीय साहुसँग लिएको ऋणको ब्याज थपिँदै गएको छ ।

प्रतापपुर–९ का एक किसानले भने, “मल हाल्ने बेला भयो, तर उद्योगले पैसा दिएको छैन । साहुसँग ऋण माग्दा पनि पुरानो ऋण तिर्नू भन्छन् । अब खेती कसरी जोगाउने भन्ने चिन्ता छ ।”

कृषि जानकारहरूका अनुसार यही अवस्था रहने हो भने आगामी वर्ष उखु खेतीको क्षेत्रफल घट्न सक्ने जोखिम बढेको छ । समयमै मल र सिँचाइ नहुँदा उत्पादन घट्ने र किसान वैकल्पिक खेती वा वैदेशिक रोजगारीतर्फ आकर्षित हुने सम्भावना बढेको उनीहरूको भनाइ छ ।

सहमति भयो, कार्यान्वयनमा शंका

केही दिनअघि प्रमुख जिल्ला अधिकारीको रोहबरमा उद्योग सञ्चालक र किसानबीच बक्यौता भुक्तानीसम्बन्धी सहमति भएको थियो । सहमतिमा किस्ताबन्दीमार्फत रकम तिर्ने प्रतिबद्धता जनाइए पनि किसानहरू भने अझै आश्वस्त छैनन् ।

सहमतिअनुसार लुम्बिनी चिनी उद्योगले जेठ मसान्तसम्म ५ करोड ५० लाख र असार मसान्तसम्म थप ८ करोड रुपैयाँ भुक्तानी गर्ने जनाएको छ । वागमती खाँडसारीले पनि असार मसान्तभित्र चालु सत्रको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

तर किसानहरू भन्छन्, “हरेक वर्ष सहमति हुन्छ, तर पैसा आउँदैन ।”

किसान संगठनहरूले अब सरकारले कडाइका साथ अनुगमन गरी उद्योगमाथि कानुनी दबाब सिर्जना नगरे उखु खेती व्यवसाय नै धराशायी हुने चेतावनी दिएका छन् । उनीहरूले किसानको रकम रोकेर उद्योग सञ्चालन गर्ने प्रवृत्तिमाथि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme