नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ स्थित एस मोड क्षेत्रमा शुक्रबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार मिति २०८३/०१/२९ गते साँझ करिब ६ः२५ बजे पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५२६० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बर्दघाटबाट ट्राफिक प्रहरीसहितको टोली तत्काल घटनास्थल पुगेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि चिसापानीस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बसमा जम्मा ३१ जना यात्रु सवार रहेका थिए। दुर्घटनाका कारण राजमार्ग अवरुद्ध नभएको र अन्य यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ।
बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–७ निवासी २८ वर्षीय दीपक धामी प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरू
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा पोखरा महानगरपालिका–१५ का ४५ वर्षीय युवराज पौडेल, बर्दघाट–१३ का ७८ वर्षीय शोभाकर चापागाईं, कैलालीको गौरीगंगा–१ का ६८ वर्षीय पुनी कडायत, ६८ वर्षीय बुद्धि सिंह कडायत, कावासोती–१ का २१ वर्षीय तावक मियाँ, भारत लखिमपुरका ३५ वर्षीय मोहम्मद दिलसाद, बासगढी–६ का ११ वर्षीय अनुराग अधिकारी, ३२ वर्षीया रितु अधिकारी, ४५ वर्षीय दिलबहादुर पुरी, ४४ वर्षीया सावित्री पुरी, ५० वर्षीया लक्ष्मी थापा, बेलौरी–४ की २० वर्षीया पूजा राना, ४७ वर्षीय अमर सिंह राना, गोदावरी–६ का ३२ वर्षीय नारायण बिष्ट, भीमदत्त–१ का २९ वर्षीय इरफान अली तथा इजरायलका २१ वर्षीय LIHI RUBEN रहेका छन्।
प्रहरीका अनुसार अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको बताइएको छ।















