
बर्दघाट,
पश्चिम नवलपरासीको बर्दघाट–२, चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ।
समूहका अध्यक्ष होमबहादुर गुरुङको अध्यक्षता तथा पश्चिम नवलपरासी जिल्लाका सिनियर वन अधिकृत राजु क्षत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षत्रीले सामुदायिक वनहरू अझै परिष्कृत हुँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले वन संरक्षण र वन उत्पादन उपयोगमा सामुदायिक वनहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
त्यसैगरी, विशेष अतिथि सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियारले विधिसम्मत तरिकाले सामुदायिक वन सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सम्पन्न र गरिब सामुदायिक वनप्रति वन कार्यालयको दृष्टिकोण फरक देखिएको उल्लेख गर्दै सबैलाई समान व्यवहार हुने वातावरण बनाउन आग्रह गर्नुभयो।
सभामा अध्यक्ष गुरुङले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। सचिव सरस्वती सुनारले सचिवको प्रतिवेदन र कोषाध्यक्ष होमबहादुर सुनारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। लेखा समिति संयोजक माधव अधिकारीले लेखा समितिको प्रतिवेदन तथा अनुगमन तथा मूल्यांकन समिति संयोजक ज्ञानेन्द्र रानालले अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभयो।
अतिथिका रूपमा बोल्दै चिसापानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाले वनको आफ्नै आर्थिक अनुगमन समिति गठन गर्नुपर्ने र वडाको फोहोर व्यवस्थापनका लागि जाने सडक व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभयो। सूर्यज्योति युवा क्लबका अध्यक्ष राम भण्डारीले वन क्षेत्रभित्र पार्क निर्माण तथा राजमार्ग छेउमा यात्रु प्रतिक्षालय निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
सो अवसरमा सामुदायिक वनको कार्यक्षेत्रभित्र रहेका १० वटा सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत २७६ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो। वनको सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरिएको कार्यसमिति सदस्य प्रेमबहादुर भुजेलले जानकारी दिनुभयो।
उपाध्यक्ष इन्दु चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष होमबहादुर सुनारले गर्नुभएको थियो।
२०६५ सालमा विधिवत रूपमा दर्ता भई सेवा सुरु गरेको चिसापानी सामुदायिक वनले बर्दघाट नगरपालिका वडा नं. २, ३, १२ र १३, सरावल गाउँपालिका वडा नं. ५ र ६ तथा पाल्हिनन्दन गाउँपालिका वडा नं. १ गरी तीन पालिकाका ३,३५० घरधुरीका १८,५५० जनसंख्यालाई सेवा प्रदान गर्दै आएको छ। सामुदायिक वनको क्षेत्रफल ४९५.७६ हेक्टर रहेको छ। गत आर्थिक वर्षमा समूहले १ करोड ४८ लाख १० हजार ७ सय ४९ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।















