काठमाडौं, २४ भदौ ।
स्वचालित रूपमा सुरु भएको Gen Z आन्दोलन मा सहादत प्राप्त गरेका महान् सहिदहरूप्रति नेपाल कुशवाहा कल्याण समाज नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ।
समाजका तर्फबाट जारी विज्ञप्तिमा सहिदका आमाबुबाप्रति गहिरो समवेदना प्रकट गर्दै उनीहरूको बलिदानलाई नेपाली राजनीतिक आन्दोलनको गौरवशाली इतिहासमा सधैं सम्झिने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “देश र जनताको स्वतन्त्रता, न्याय, समानता र समृद्धिको खातिर तपाईहरूले दिनुभएको बलिदान अमूल्य र असाधारण छ। तपाईहरूले देखाउनु भएको मार्ग आज र भोलीको पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ।”
सहिदका अधुरा आकांक्षालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्दै “हामी तपाईहरूको आदर्श पछ्याउँदै न्याय, समानता र समृद्धिको नेपाल निर्माणमा सहभागी हुने प्रण गर्दछौं” भन्ने प्रतिवद्धता समेत गरिएको छ।
समाजका महासचिव जयप्रकाश महतो र अध्यक्ष राकेश मेहताले संयुक्त रूपमा हस्ताक्षर गरेको वक्तव्यमा सरकारले आन्दोलनकारी युवाहरूले अघि सारेका मागलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “आजको आवश्यकता शक्ति प्रदर्शन होइन, संवेदनशीलता हो। सरकार अहंकारमा होइन, यथार्थमा आधारित निर्णय लिन सकोस् भन्ने अपेक्षा राख्दछौं।”
Gen Z आन्दोलनले हालै विभिन्न स्थानमा प्रदर्शन गर्दै स्वतन्त्रता, समानता र सामाजिक न्यायका माग उठाउँदै आएको छ।















