✍️ पप्पु रेग्मी, बर्दघाट, ५ असार २०८२ ।
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण नारायणघाट–बुटवल सडक खण्डमा अवरोध सिर्जना भएको छ। यस्तो अवस्थामा नवलपुर प्रहरीले यात्रुहरूलाई सो सडक प्रयोग नगरी वैकल्पिक मार्ग रोज्न आग्रह गरेको छ।
दुम्किवास स्थित विनयी खोलाको डाइभर्सन बगाएको र दुम्किवास–दाउन्ने सडक खण्डका विभिन्न स्थानमा सडक चिप्लो बनेर सवारीसाधन फस्ने गरेको र एकतर्फी सडक हुदा सडक अवरुद्ध भएको हाे ।
ठूलो सवारी साधनका लागि वैकल्पिक मार्ग
पूर्वबाट पश्चिमतर्फ गइरहेका ठूला सवारी साधनले नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल पुग्न सक्नेछन्। त्यस्तै, पश्चिमबाट पूर्वतर्फ जान चाहने सवारी साधनहरूका लागि बुटवल – स्याङ्जा –
पोखरा – मुग्लिन मार्ग प्रयोग गर्न नवलपुर प्रहरी प्रशासनले सुझाव दिएको छ ।
साना सवारी साधनका यात्रुहरूलाई कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक खण्डबाट यात्रा गर्न सकिने जनाइएको छ। यद्यपि, उक्त करिडोरमा समेत पहिरो र बाढीको जोखिम रहेकाले बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार बिहान सार्वजनिक गरेको सूचनामा सुझाव दिएको छ।
बारम्बार बगाइ रहेको विनयी खोलाको डाइभर्सन
मंगलबारदेखि अवरुद्ध हुँदै आएको प्रहरीले जनाएकाे छ। हालसम्म खोलाले सात पटकसम्म डाइभर्सन बगाइसकेको छ, जसले गर्दा सडक नियमित रूपमा अवरुद्ध हुने गरेको छ।
चिप्लो सडक र लामो जामले यात्रा कष्टकर बनेको
दाउन्ने क्षेत्रको १४ किलोमिटर सडक खण्ड र दुम्किवासको विनयी खोलासम्मको सडकमा चिप्लोपनका कारण गाडीहरू फस्ने, जाम लाग्ने र यात्रुहरूलाई सास्ती हुने अवस्था देखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हाल यात्रा अत्यन्तै कष्टकर बनेको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सबै यात्रुहरूलाई अनुरोध गरेको छ।















