अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी अनुदान सहायता परियोजना (एमसिसी) कार्यान्यवनबारे चासो राखेका छन्।
शुक्रबार दिउँसो परराष्ट्र मन्त्री एनपी साउदसँग भएको भेटमा लुले एमसिसी कार्यान्वयनबारे चासो राखेका हुन्।
परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नति र सोपश्चात पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी तथा दुबै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।
भेटमा परराष्ट्र मन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को संकटको समयमा प्राप्त भएको विशेष सहयोगका लागि आभार व्यक्त गरेका थिए।
यसअघि लु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए।
अमेरिकी सहायक विदेश मन्त्री लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन्। उनले राजनीतिक भेटघाट गरिरहेका छन्।





