प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। एमालेसहितको समर्थनमा दाहाल मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेपछि कांग्रेस संघदेखि प्रदेशसम्म अनायास सत्ताबाहिर पुगेको थियो। तर पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर माओवादीसँग सहकार्यको हात बढाएको कांग्रेस सत्ताबाहिर भएको ६४ दिनमै फेरि सरकारमा सहभागी हुने बाटो खुलेको छ।दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नुअघि पुस १० गते एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी केन्द्र अलग भएसँगै कांग्रेस सत्ता साझेदार बन्ने निश्चित भएको थियो। एमालेले दाहाल नेतृत्व सरकार नछाडेसम्म कांग्रेसलाई सत्तारोहणका लागि नैतिक समस्या रहेको जनाउँदै एक नेताले भने, ‘अब हामीलाई सरकारमा सहभागी हुन बाटो खुल्यो।’पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा शपथ लिएकै दिन एमाले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको थियो। पूर्व सहमतिविपरीत माओवादीसहितका आठ दलले फागुन १२ गते राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए। त्यसको भोलिपल्ट सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले माओवादी पूर्वसहमतिमा कायमै रहने दाबी गर्दै राष्ट्रपति निर्वाचनसम्म सरकारमा रहिरहने निर्णय गरेको थियो। तर सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ।
पार्टी निर्णयअनुसार एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले सोमबार नै प्रधानमन्त्री दाहाललाई भेटी राजीनामा बुझाएका छन्। त्यसअघि नै राप्रपा सरकारबाट अलग भएसँगै प्रधानमन्त्रीले संविधानको धारा १०० को २ मा भएको व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १०० को २ मा लेखिएको छ। प्रधानमन्त्री दाहालले संविधानको सोही व्यवस्थाअनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र कांग्रेस सरकारमा सहभागी हुनेछ। ‘पहिला प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ,’ कांग्रेसका एक नेताले भने, ‘त्यसपछि मात्र हामी सरकारमा सहभागी हुने तयारी छ।’ फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिने कि पछि भन्ने दलीय सहमतिमा टुंगो लाग्नेछ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले पनि विश्वासको मत कहिले लिने भन्ने विषयमा छलफल जारी रहेको बताए।नागरिकन्युज





