पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासी जिल्ला स्थित ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालय बर्दघाट ७ जिमिरेभारकाे २९औं स्थापना दिवस एवं विशेष साधारणसभा साेमवार केन्द्रीय कार्यालय जिमिरेेभारकाे प्राङ्गणमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता तथा नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक सदस्य एवम् संस्थाका निवर्तमान अध्यक्ष रविन्द्र विक्रम हमालकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको साधारण सभामा बाेल्दै प्रमुख अतिथि हमालले ग्रामिण सहकारीको पहिचान भनेकै सदस्यहरुमा वित्तिय सुशासन र जीवन स्तरमा परिवर्तन भएको हुनाले संस्था आजको अवस्थामा आउनु सुखद पक्ष रहेको बताए । उनले सहकारी ठुलो भएसंगै जिम्मेवारी पनि थपिने भएकोले त्यसतर्फ गम्भिर भएर काम गर्नुपर्ने बताउनुभएको थियो ।
यस क्षेत्रमा रहेकाे बैंकहरूले जस्तै यस संस्थाले पनि काम गर्न सफल भएकाे बताउदै, अहिलेकाे समयमा बैंकहरू मर्ज भए जस्तै सहकारीहरू पनि मर्ज हुने भए पछि सहकारी संञ्चालन गर्न अझ जिम्मेवारी बहन गर्नुपर्नेमा जाेड दिनुभयो ।
यस बर्ष देशभरकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको ग्रामिण सहकारी र बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लि. मर्ज हुने भएपछि विशेष साधारणसभाकाे आव्हान गरिएको हाे । अाजकाे विशेष साधारणसभाले बाल्मिकीसंग एकिकरणमा जाने प्रस्तावलाई स्विकृत भएको व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयाे ।
ग्रामिण सहकारीको हाल सम्मको कुल सम्पत्ति ८० करोड ९९ लाख ५१ हजार २ सय ९५ रुपैयाँ बराबर रहेको छ । एकिकरण हुन लागेको बाल्मिकीको करिब २३ करोडको सम्पत्ति रहेको दुबै सहकारीको एकिकरण पछि करिव १ अर्व भन्दा माथी पुँजी भएको जिल्लाको एकमात्र सहकारी हुने विजय ज्ञवालीले बताउनुभयो ।
ग्रामीणमा हाल सम्म १० हजार ५ सय १ जना शेयर सदस्य छन भने बाल्मिकीमा १ हजार २ सय ३० जना शेयरसदस्य रहेका बताईएकाे छ ।
कार्यक्रममा उपाध्यक्ष सुरज के.सी.को स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन संस्थाकाे सचिव राधा ढकालले गर्नुभएको थियो ।





