कपिलवस्तु — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्जको बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ। शनिबार मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोडपछि हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव उत्पन्न भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
प्रशासनले जारी गरेको सूचनाअनुसार सम्भावित झडपलाई नियन्त्रण गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम सनिवार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यस अवधिमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा जमघट गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
सूचनामा आदेश उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म तोकिएको छ।
















