बर्दघाट, १६ साउन २०८२ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ बण्डाखोला जितपुरका १०१ घरपरिवारलाई शुक्रबार दोस्रो चरणमा जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) पालडाडामा वितरण गरिएको छ ।
यसअघि २०८२ असार २१ गते पहिलो चरणमा ६७ घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको थियो। भूमि समस्या समाधान आयोग, पश्चिम नवलपरासीको आयोजनामा र बर्दघाट नगरपालिकाको समन्वयमा भुमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको हो।
शान्ति निकुञ्ज माध्यमिक विद्यालय, पालडाँडा बर्दघाट–५ को सभाहलमा सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षता तथा संघीय सांसद विनोद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सांसद चौधरीले चुनावका बेला सुकुम्वासी समस्या समाधान गर्ने वाचा अनुसार आफूले पहल जारी राखेको बताउँदै, सबै नागरिकलाई उनीहरूको जोतभोगको जग्गाको कानूनी स्वामित्व दिलाउने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले पछिल्लो समय देखिएको गुटबन्दीप्रति संकेत गर्दै एकता कायम राख्न आग्रह गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारीले जोतभोग नगरेका र अरूको जग्गामा बसोबास गर्दै आएका निमुखा वर्गका नागरिकलाई पनि बसोबासको टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष भगवती प्रसाद यादवले सामाजिक र भौतिक विकासमा सबैले मिलेर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले सम्पूर्ण भुमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने कार्य निरन्तर अघि बढाउने दृढता व्यक्त गर्नुभयो।
लालपुर्जा पाएका स्थानीयवासीहरु अत्यन्तै खुसी देखिएका थिए। वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको कानुनी प्रमाणपत्र प्राप्त भएपछि, स्थानीय चुडामणि थारूले “अब साँच्चै आफ्नो जमिन भएको महसुस भएको छ,” भन्दै खुशी व्यक्त गर्नुभयो।















