पूर्वमन्त्री हृदयेश त्रिपाठी एमसिसि काे पक्षमा

181

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने केपी शर्मा ओली र बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री थिएँ । म संलग्न मन्त्रिपरिषद्ले पनि एमसीसीलाई अगाडि बढाउने काम गर्‍यो । नैतिक रूपमा पनि म एमसीसीको पक्षमा छु।

हुन त २०६७ सालयता सरकारमा पुगेको सबै दलले एमसीसी ल्याउन भूमिका खेलेका छन्। म उनीहरू जस्तो दोहोरो चरित्र देखाउँदिनँ। म संलग्न सरकारको भूमिका भएको एमसीसीको पक्षमा मतदान गर्छु।

जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष तथा पूर्व मन्त्री हृदयेश त्रिपाठीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) शुद्ध विकास परियोजना भएकाले संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

आफू मन्त्री भएका वेलामा पनि एमसीसी सम्झौतालाई अगाडि बढाउने काम भएकाले नैतिक रूपमा पनि आफू यसको विपक्षमा जान नसक्ने उनको भनाइ छ । ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने घोषणा गरेका त्रिपाठीको धारणा यस्तो छः

एमसीसीको विरोध भएको देख्दा छक्क परेको छु। यसलाई विरोध गर्नुपर्ने कुनै पनि कारण छैन। किनभने, पहिलो यो शुद्ध विकास परियोजना हो। दोस्रो, यो ऋण होइन, अनुदान हो र तेस्रो, यो पाँच वर्षमा पूरा हुने परियोजना हो।

एमसीसीबारे अनावश्यक हल्ला भइरहेको छ। अनुदानको पैसामै बसेर सेना आउँछ जस्तो भ्रम फैलाइएको छ। जिम्मेवार भएर सोच्ने हो भने एमसीसीको विरोध गर्नुपर्ने कुनै कारण छैन। सहयोग लिने/नलिने निर्णय नेपालीले गर्ने हो। र, यो एमसीसी नेपालकै हितमा छ। यसको विरोध गर्नुअघि एक पटक ठन्डा दिमागले सोच्नुस् भन्न चाहन्छु।