✍ वृजराज कुशवाहा, नवलपरासी, साउन ५ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नरसही गाउँमा चितुवाको आतंकले स्थानीयवासी त्रासमा परेका छन्। विगत १५ दिनदेखि एक पोथी चितुवा आफ्नो बच्चासहित सो क्षेत्रको बस्ती र खेतबारी वरपर देखिन थालेपछि गाउँमा डरको वातावरण छाएको छ।
स्थानीयवासीले जानकारी गराउंदा पनि नियन्त्रणमा लिने वा धपाउने जस्ताे कुनै उपाय नगरिदिदा वन रक्षक तथा स्थानीय प्रहरी प्रति स्थानीयवासीमा आक्राेश बढ्न थालेकाे छ ।
जंगलबाट झरेर मानव बस्तीको छेउमा आउने गरेको सो चितुवा खेतबारी नजिकै घुमफिर गरिरहेकाले विशेषगरी किसानहरू त्रसित छन्। बिहान–साँझ खेतमा काम गर्न जाने स्थानीय महिला र वृद्ध किसानहरू खेतबारीमै चितुवाले आक्रमण गर्ने डरले खेती किसानी गर्न सकिरहेका छैनन्।
स्थानीयवासी चन्द्रभान कुशवाहा भन्छन्, “हामी खेतमा जान डराउँछौं। चितुवा बच्चा लिएर बारम्बार देखा पर्छ। रातमा त घर बाहिर निस्कनै सकिन्न। सरकार वा निकायले चाँडै समाधान गरिदिए हुन्थ्यो।”
चितुवाको उपस्थितिका कारण बालबालिकालाई घरबाहिर निस्कन नदिइएको र गोठालो गएका पशुपालनकर्ता समेत झनै जोखिममा रहेको स्थानियको भनाइ छ।
यसरी १५ दिनदेखि लगातार चितुवाको उपस्थितिले गाउँको दैनिक जनजीवन प्रभावित भईरहेको हुँदा स्थानियबासीले वन डिभिजन कार्यालय, गाउँपालिका प्रशासन, र जिल्ला प्रशासन कार्यालयमा चाँडो समाधानको माग गर्दै गुनासो गर्दै आएका छन्।
स्थानीय निकाय तथा सम्बन्धित सुरक्षा निकायले आवश्यक कदम चालेर चितुवा नियन्त्रण गर्न आवश्यक छ, नत्र अनिष्ट हुनसक्ने खतरा गाउँलेहरूले औंल्याएका छन्।















