श्याम थापा
सुस्ता २९ भाद्र
स्थानिय तहहरुमा भएको चर्को कर बृद्धिले नागरिक मारमा परेको चर्चा चलिरहदा
नवलपरासीको सुस्ता गाउपालिकामा भने करको बृद्धिदर शुन्य प्रतिशत रहेको छ ।
सुस्तागाउपालिकाले करको विषयमा अनावश्यक रुपमा चर्चा हुदा नागरिकहरुमा भ्रम सिर्जना
भैरहेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरी गाउपालिकाले निर्धारण गरेका करका
शिर्षक र दररेट सार्बजनिक गरेको छ ।
गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेले गत आर्थिक बर्ष २०७४÷०७५ मा भन्दा यस बर्ष
कतिपय कर कम गरिएको बताउनुभएको छ । बाहिर हल्ला भएजस्तो साईकल, हांस, कुखुरा
लगायतमा कुनैपनि कर नलगाईएको बताउनुभयो । गाउपालिकाले गत बर्ष सुकुम्बासी
प्रयोजनको सिफारिसमा २ सय रुपैंया कर लगाएकोमा यस बर्ष निशुल्क गरिएको
बताउनुभयो ।
सुस्ता गाउपालिकामा धेरै किसानहरु रहेकोले कृषिजन्य उत्पादनको पैठारीमा लाग्दै
आएको निकासी कर समेत हटाएर निशुल्क बनाईएको छ ।
केरा किसानहरुका लागि प्रति बोट अनुदानका लागि ५ लाख रुपैयां अनुदानको ब्यबस्था गरेको र विमामा, तालिम र
अवलोकन भ्रमणको लागि समेत गाउपालिकाले सहयोग गरेको पाण्डेको भनाई छ ।
केरा किसानहरुले बजार नपाएको गुनासा आएकोले सित भण्डार निर्माण गर्नका लागि ५०
लाख भन्दा बढि रकम विनियोजन भएको र प्रदेश सरकारको समेत सहयोगमा निर्माण
प्रकृया सुरु हुने अध्यक्ष पाण्डेले बताउनुभयो ।
सुस्ता गाउपालिकाले एकिकृत सम्पत्ति कर समेत नलगाएको र नागरिकलाई करको बोझ
नपार्ने गरी अगाडि बढेको पाण्डेले बताउनुभयो । सुस्ता गाउपालिकाले जन्मदर्ता,
विबाह दर्ता, मृत्यु दर्ता, बसाईसराई, निशुल्क स्वास्थ्य उपचार सिफारिस, अपाङ्ग
परिचयपत्र सिफारिस, सुकुम्बासी प्रयोजनको सिफारिस सामाजीक सुरक्षा परिचयपत्र तथा
नविकरण निशुल्क रहेको जनाएको छ । जन्म, मृत्यु, बसाईसराई को लागि ३५ दिन
भित्र दर्ता नगराएमा ५० रुपैया जरिमाना लाग्ने बताईएको छ ।
सुस्ता गाउपालिकाले हाल ३० वटा शिर्षकमा मात्र कर लगाएकाले त्यस भन्दा बाहिर
कुनैपनि शुल्क तथा कर नलिएको अध्यक्ष पाण्डेले प्रस्ट पार्नुभएको छ । पाण्डेले अन्य
स्थानिय तहको तुलनामा सुस्तामा कम कर लगाईएको भन्दै कोहि कसैलाई पनि बाहिर
आएको हल्लाको पछाडि नलाग्न र भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ ।
पुर्वाधार विकासका क्षेत्रमा स्थानिय दररेट अनुसार काम गर्दा जिल्ला दर रेट भन्दा
झण्डै तिन करोड बढिको थप काम गरिएको पाण्डेले बताउनुभयो । सुस्ता
गाउपालिकामा सवै वडाहरुमा समान कर लगाईएको र सवै जनप्रतिनिधिहरु जुनसुकै
पार्टिबाट निर्वाचित भए पनि एक ढिक्का भएर अगाडि बढेको पाण्डेले बताउनुभयो ।
करको विषमा आईरहेका विरोधका स्वरहरु सुस्ता गाउपालिकामा विरोधका लागि
विरोध मात्र भएको र त्यसमा कुनै सत्यता नभएको पाण्डेको भनाई छ । आफुहरुले
गाउपालिकाका नागरिकको क्षमतालाई बुझेर बैज्ञानीक ढंगले कर निर्धारण गरिएकोले
कुनै समस्या नआउने समेत जिकिर गर्नुभयो ।