संजय कुशवाहा / नवलपरासी माघ ७ पश्चिम
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.९ अठिलहीमा अवस्थित ज्ञान ज्योति प्राथमिक विद्यालयमा अागामी शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा कक्षा संचालनको लागि बालबालिका, अभिभावक, शिक्षक र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
ज्ञान ज्योति प्राथमिक विद्यालयको आयोजनामा अंग्रेजी माध्यममा कक्षा संचालनको लागि बालबालिका र अभिभावकमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दुधनाथ कोईरीको अध्यक्षता प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथ्यता तथा त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक श्री बलवन्त कुर्मी ज्यूको विशिष्ट अातिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री राज किशोर गुप्ताले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शर्माले ज्ञान ज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूको लागि अंग्रेजी माध्यम संचालन गर्नको लागि गाउँपालिकाको तर्फबाट कक्षा नर्सरी र जे.के. जी. मा पढ्ने विद्यार्थीहरूलाई किताब र ब्याग दिने र विद्यालयलाई एक सेट कम्प्युटर दिनेे बताउनुभयो । साथै आउने दिनहरूमा विद्यार्थीहरूको संख्या बढदै गयो भने विद्यालयमा दुई वटा शिक्षक गाउँपालिकाले व्यवस्था मिलाउनको लागि शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा खिरि नारायण चौधरी, लअनिरूद्ध यादव ,हेमन्त प्रसाद चौधरी, शिक्षक, बालबालिका, अभिभावक लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालयको शिक्षिका जूना घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका शान्ति थनेतले दिनुभएको थियो ।