सवारी साधन चलाउन नपाउने नियम कडाई शुरु

15

नवलपरासी, ९ चैत ।

सरकारले देशभर २० वर्ष पुरा सवारी साधन चलाउन नपाउने नियम बनाएपछि नवलपरासीमा पनि सो कार्यान्वयनका लागी कडाई शुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले २० वर्ष पुराना सवारी साधन नचलाउन आग्रह गरेको हो । ट्राफिक प्रहरीले सरकारको नियम पालना गर्न आग्रह गर्दै अटेर गरी पुराना सवारी चलाईएको पाईएमा कडा कारवाही गर्ने जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र अग्रहरीले २० वर्ष पुराना सवारी चलाएको पाईएमा नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय पठाईने जानकारी दिनुभयो ।

उहाँले यातायात व्यवसायीहरुलाई २० पुुराना सवारी साधन नचलाउन आग्रह गर्दै सरकारको नियम पालना गर्न आग्रह गर्नुभयो । मन्त्रिपरिषद्ले २०७१ भदौ २६ गते दुई वर्ष्भित्र २० वर्ष पुराना सवारी साधन गुड्न नदिने निर्णय गरेको थियो ।

यातायात व्यवसायीले निर्णयको विरोध गरेपछि राजपत्रमा सूचना प्रकाशन गर्न ढिलाइ भयो । जसका कारण निर्णय कार्यान्वयन गर्नमा ढिलाई भएको थियो । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

त्यस्तै नवलपरासी पश्चिम स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यलय लुम्बीनी को सयुक्त टोलीले नवल १२ भुमहीमा २० बर्ष नाघेका सवारी लु १ ज ३५१ नम्बरको एक वटा जिपलाई नियन्त्रण लिइएको जनाएको छ ।

उक्त नियन्त्रणमा रहेको जिपलाई यातायात ब्यवस्था कार्यालय लुम्बिनी बुटवलमा पठाइने प्रहरी जवान हिम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।