अन्जाम एसके, साउन १०, वीरगन्ज ।
सरकारले लकडाउन अन्त्य भएकाेे घोषणा गरेपछि कोरोना भाइरसको संक्रमणमा वृद्धि भएको छ ।
कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले फेरि शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच जना थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्षअनुसार भोलि बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडामा अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले राससलाई बताए ।
पर्सामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सात महिलासहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्याले बताए ।
उनका अनुसार सङ्क्रमित हुनेमा नौ महिनाका बालकदेखि ६० वर्षकी वृद्ध महिलासमेत रहेका छन् । सङ्क्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य सबै वीरगञ्ज निवासी रहेको जनाइएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका पाँच थुनुवा पनि सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
उनका अनुसार सङ्क्रमित हुनेमा २६ पर्साका, एक बाराका र पाँच भारतीय छन् । यसअघि पनि १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । जसमध्ये एक जनाको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यस्तै कोरोना रोगका लक्षण देखिएका एक महिला र एक पुरुषको मृत्यु भएको छ । सो रोगको लक्षण देखिएपछि गण्डक अस्पतालमा भर्ना भएका माईस्थानमा एक ६० वर्षीय पुरुषको तथा नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेकी वीरगञ्ज महानगरपालिका– ११ बस्ने ८५ वर्षीय एक वृद्धासहित दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुवै जना लामो समयदेखि विभिन्न रोगबाट प्रभावित भई उपचार गराइरहेकामा उनीहरुको थप जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । वीरगञ्ज क्षेत्रमा केही दिनअघिसम्म कोरोना पोजेटिभ घट्दै गएकामा बजार खुलेपछि मानिसको भिडभाड एक्कासी बढेको, मानिस मानिसबीच भौतिक दूरी कायम नरहेको र पसले तथा ग्राहकबीच सामाजिक दूरी कायम नभएको, मास्क प्रयोगकर्ता कम देखिएकाले यो रोग एक्कासी बढ्न गएको चिकित्सकको भनाइ छ ।