वृजराज कुशवाहा
जब विश्वप्रसिद्ध विद्वान् तथा अमेरिकी शिक्षाविद् प्रोफेसर कोर्नेल वेस्ट (Cornel West) जस्तो व्यक्तित्वले “Harvard University” जस्तो प्रतिष्ठित संस्थाबाट राजीनामा दिन्छन्, त्यो केवल व्यक्तिगत निर्णय होइन, यो समग्र शिक्षा प्रणालीमाथिको गहिरो प्रश्न हो।
उनले दिएको कारण झनै सोच्न बाध्य बनाउँछ। आफ्नी आमाको मृत्युपछि हार्वर्ड न्यूजलाटरमा केवल दुई विद्यार्थीले संवेदना प्रकट गरेपछि उनले आक्रोशपूर्वक भनेका छन्:
“यदि यति ठूलो विश्वविद्यालयले समेत विद्यार्थीहरूलाई आत्मीयता, मानवता र संस्कार दिन सक्दैन भने बाँकी संस्थाको के हालत होला?“
यो कथन सतही भावनात्मक प्रतिक्रियाभन्दा परको गहिरो चेतावनी हो — आजको शिक्षा प्रणालीको विफलता र दिशाहीनताको।
शिक्षा: केवल डिग्री हैन, जीवन बोध हो
आजको पुस्ता गुणस्तरीय डिग्री, चम्किला प्रमाणपत्र, स्मार्ट क्लासरूम र प्रविधियुक्त शिक्षा प्राप्त गरिरहेका छन्, तर संवेदना, सहानुभूति, संस्कार, सामाजिक बोध र आत्मा भने हराउँदै गएको छ। शिक्षालयहरू ज्ञानको केन्द्र कम, रोजगारको कारखाना बढी भइरहेका छन्।
- विद्यार्थी मर्केटको माग अनुसार उत्पादन हुने “प्रोडक्ट” जस्तो भइरहेका छन्।
- शिक्षक “mentor” नभई “syllabus delivery unit” जस्ता।
- मूल्य, निष्ठा र सामाजिक चेतना सिकाउनेभन्दा जबसम्म GPA, IELTS, TOEFL, MBBS, BBA… को लहरो दौडिरहेछ।
हार्वर्डको उदाहरण, हाम्रो देशको सन्दर्भ
जब विश्वको टप युनिभर्सिटी भनेर चिनिने संस्थामा यो अवस्था छ, तब हामीजस्ता विकासशील राष्ट्रका शिक्षालयहरूमा अवस्था कस्तो होला भनेर आँकलन गर्न गाह्रो छैन।
हाम्रा विद्यालय–कलेजहरूमा पनि:
- परीक्षामैत्री शिक्षा छ, जीवनमैत्री छैन।
- अंकमा होडबाजी छ, तर संस्कारमा शून्यता।
- भाषण त छ “चरित्र निर्माण” को, व्यवहारमा केही छैन।
हामी बच्चाहरूलाई पढ्न सिकाइरहेका छौं, तर “जीवन जिउन” सिकाइरहेका छैनौं।
आत्मा बिहीन शिक्षा प्रणालीको खतरा
कोर्नेल वेस्टले जे भने, त्यो हामी सबैका लागि चेतावनी हो।
यदि शिक्षा केवल पेशा कमाउने माध्यममा सीमित भयो भने:
- सञ्चार हुने तर संवेदना गुम्नेछ।
- ज्ञान त हुनेछ, तर विवेकको प्रयोग हुने छैन।
- राष्ट्र शिक्षित त देखिनेछ, तर दिशाहीन हुनेछ।
हामी यस्ता “सफल” मानिस उत्पादन गर्नेछौं, जो आफ्ना आमाबुवाको मृत्युप्रति संवेदना पनि प्रकट गर्न नसक्ने हुन्छन्।
शिक्षा के दिनुपर्छ?
हामीलाई आज यस्ता शिक्षालयहरू चाहिन्छन्:
- जहाँ केवल डिग्री मात्र होइन, मानवता सिकाइन्छ।
- जहाँ विद्यार्थीलाई मार्केट मा मात्र होइन, समाज मा पनि काम लाग्ने बनाइन्छ।
- जहाँ शिक्षकहरू सिर्फ पाठ्यपुस्तक पढाउने होइन, मानव मूल्य जगाउने पात्र बनाइन्छ।
निष्कर्ष
कोर्नेल वेस्टको आवाज केवल हार्वर्डको समस्या होइन, विश्व शिक्षा प्रणालीमाथिको एक कठोर यथार्थ हो।
आज हामीलाई फेरि एकपटक त्यो मूल प्रश्न उठाउन जरुरी छ:
“हामी विद्यार्थीलाई के दिइरहेका छौं? डिग्री? कि आत्मा?“
यदि यो प्रश्नको उत्तर आत्मासहितको शिक्षा होइन भने, हामीले बनाएका युनिभर्सिटीहरू डिग्रीको मृत्युघण्टी बन्नेछन्।
✍ वृजराज कुशवाहा
(सामाजिक चिन्तक तथा शैक्षिक अभियन्ता)















