प्रहलाद यादव, लुम्बिनी, २०८२ साउन ४ –
प्राचीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको लुम्बिनीस्थित सिद्धेश्वर महादेव मन्दिरमा यस वर्षको सावन महिनाको सोमबारदेखि जलआर्पण कार्यको औपचारिक शुभारम्भ गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ र ५ को सिमानामा अवस्थित यस मन्दिरको ऐतिहासिकता पुनः खोज अनुसन्धानपछि उजागर भएको हो। त्यसयता हरेक सावनको सोमबार सूर्य उदाउनुअघि नै भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिरका पुजारी तथा सेवक मनोज थापाले जानकारी दिनुभयो।
“मैले १८ वर्षको उमेरदेखि बल ब्रह्मचारी जीवन धारण गरी निरन्तर सेवा गर्दै आएको छु। अहिले म ७५ वर्ष काटिसकेको छु, र आजसम्म पनि यस पवित्र स्थलको सेवा गरिरहेको छु।” उहाँले थप भन्नुभयो, “सिद्धेश्वर महादेव मन्दिरमा पूजा–पाठ तथा जल आर्पण गरेपछि भक्तजनको मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ, त्यसैले यस मन्दिरलाई ‘सिद्धेश्वर’ भनिएको हो।”

धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिने यस मन्दिरलाई लुम्बिनी क्षेत्रका महाशक्ति शिव स्थलहरूमध्ये एकका रूपमा लिइन्छ। यस क्षेत्रका अन्य प्रमुख शिव मन्दिरहरूमध्ये प्रकटेश्वर महादेव, पैसिया महादेव, र सिद्धेश्वर महादेव मुख्य छन्।
पुरातत्त्व विभागले समेत सिद्धेश्वर मन्दिरको ऐतिहासिकता पुष्टि गर्दै उक्त स्थलमा प्राचीन शिवलिङ्ग रहेको र त्यसको संरक्षण आवश्यक रहेको निष्कर्ष निकालिसकेको छ। विभागले सो क्षेत्रमा आफ्नो साइनबोर्ड समेत राखेको छ।
हाल नगरपालिकाले केही बजेट प्रदान गरिसकेको भए पनि, मन्दिर परिसरमा शौचालयजस्ता आधारभूत पूर्वाधारको अभाव रहेकोले इच्छुक दाताहरुलाई सहयोगको अपिल समेत मन्दिर व्यवस्थापन समितिले गरेको छ।
सावन महिनाभर सोमबारको दिन विशेष पूजा, व्रत र जल अर्पणको क्रममा लुम्बिनी क्षेत्रभित्र र बाहिरबाट समेत हिन्दू सनातनी धर्मावलम्बीको सहभागिता बढ्दो रहेको जनाइएको छ।
मन्दिर समितिले धार्मिक, सांस्कृतिक संरक्षणका निम्ति सबै हिन्दू सनातन समुदायका भक्तजनहरूलाई सहभागिता जनाउन आह्वान गरेको छ।















