रंजित शर्मा,पश्चिम नवलपरासी, पाल्हीनन्दन —
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ‘नैतिक शिक्षा’काे नाममा साना बालबालिकालाई लक्षित गरी धर्म परिवर्तनको प्रयास भइरहेको भन्दै स्थानीय युवाहरू आक्रोशित बनेका छन्। उनीहरूले ती गतिविधि तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तथा पाल्हीनन्दन गाउँपालिकामा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्।
युवाहरूको आरोप अनुसार, काठमाडौंस्थित “श्री नेपालको राष्ट्रिय बहाई समुदाय” नामक गैरसरकारी संस्थाले पालिकाबाट च.न. २६६९ र मिति २०८२/०३/२३ मा प्राप्त अनुमति प्रयोग गरी विद्यालयस्तरका बालबालिकामाथि योजनाबद्ध रूपमा बहाई धर्म प्रचार र धर्म परिवर्तनको अभियान सञ्चालन गरिरहेको छ।
ज्ञापनपत्रमा भनिएको छ, सुरुमा शिष्टाचार र नैतिकताको नाममा प्रशिक्षण दिने, त्यसपछि धार्मिक पुस्तक वितरण, सभा–सेमिनार आयोजना र आर्थिक प्रलोभनमार्फत बालबालिकालाई बहाई धर्मतर्फ आकर्षित गरिँदै आएको छ।
युवाहरूको माग–
– धर्म परिवर्तनको आरोप लागेका कार्यक्रमहरू तत्काल बन्द गरिनु पर्ने
– सम्बन्धित संस्थालाई दिइएको अनुमति खारेज गरिनु पर्ने
– नैतिक शिक्षाका नाममा धर्म प्रचार गर्ने गतिविधिको छानबिन र निगरानी
– संलग्न संस्थामाथि कानुनी कारबाही
प्रशासनको जवाफ–
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले स्थानीय युवाहरूको मागलाई गम्भीर रूपमा लिँदै विवादित कार्यक्रम तत्काल रोक्ने र थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले संस्थालाई दिइएको अनुमति खारेज गर्ने प्रक्रिया पनि अघि बढाउने जनाएका छन्।
यता, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक) ले समेत संस्थालाई दिइएको अनुमति खारेज गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन्। अध्यक्ष गुप्ताले भने, “हामीले नैतिक शिक्षाको लागि अनुमति दिएका थियौं, तर धर्म परिवर्तन भइरहेको पुष्टि भएपछि तत्काल कदम चाल्ने निर्णय गरेका छौं।”
स्थानीय युवाहरूले अब राज्यले यस विषयमा संवेदनशीलता देखाउने विश्वास व्यक्त गरेका छन्। तर, यदि मागहरू बेवास्ता गरिएमा आन्दोलनमा उत्रनुको विकल्प नरहने चेतावनी पनि दिएका छन् ।















