
बर्दघाट, २९ पौष२०८२ ।
बर्दघाट नगरपालिका बर्दघाट पश्चिम नवलपरासीको
१७औँ हिउँदे नगरसभा मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। नगरसभामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो बजेट संशोधन अनुसार संशोधित बजेट तथा आय–व्यय विवरण प्रस्तुत गरिएको छ।
सभामा २० पौष सम्मको राजस्व संकलन अवस्था, न्यायिक कार्यसम्पादन, अनुगमन प्रतिवेदन तथा ११ वटा ऐन सभासमक्ष पेश गरिएको छ। नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ४ करोड ४६ लाख ३३ हजार ५५ रुपैयाँ संकलन भएको जानकारी दिनुभयो। साथै आर्थिक वर्षको अन्त्यसम्ममा ८ करोड ३२ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ को अन्तिम प्रतिवेदनमा ३ करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको छ भने सोही वर्षको १ करोड ४२ लाख ५९ हजार रुपैयाँ बेरुजु महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण भई फरछ्यौट भएको जनाइएको छ।
न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदनअनुसार नगरमा दर्ता भएका उजुरीहरूमध्ये ४३ प्रतिशत उजुरी समाधान भएको छ। अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदनमा उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका ठूला तथा जटिल योजनाको प्रगति विवरण प्रस्तुत गरिएको छ, जसलाई सभाले सर्वसम्मत स्वीकृत गरेको छ।
नगरसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले १६औँ नगरसभा पछि नगर कार्य पालिका, नगर प्रमुख तथा उपप्रमुखको अध्यक्षतामा भएका बैठकका निर्णयहरू सभासमक्ष प्रस्तुत गरेको नगर सभाले सर्वसम्मत अनुमोदन गरेको छ।
सभामा सुशासन समिति संयोजक गोविन्द वि.क.ले सुशासन प्रतिवेदन तथा लेखा समिति संयोजक बालिन्द्र विक्रम शाहीले सुझावसहितको लेखा प्रतिवेदन पेश गर्नुभयो। यस्तै विधान समिति संयोजक प्रेम भुजेलले ११ वटा ऐन सभासमक्ष प्रस्तुत गर्नुभएको छ। ती ऐनहरूमाथि दफावार छलफलका लागि नगर प्रमुखले ७२ घण्टाको समय उपलब्ध गराउनुभएको छ। आर्थिक ऐन, विनियोजन ऐन तथा समितिका प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
सभासदहरूले उठाएका जिज्ञासाहरूको जवाफ सभा अध्यक्ष एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठले दिनुभएको थियो।
नगरसभाको अवसरमा नगर प्रमुख श्रेष्ठले बर्दघाटको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विभिन्न अभियन्ता तथा संघसंस्थालाई सम्मान गर्नुभएको हो । उहाँले बर्दघाट नगरको नगर गानका रचयिता डिल्ली नारायण पाण्डेलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
बर्दघाट चुरे उद्यान, श्रम हिल पार्क तथा त्रिवेणी चोकदेखि चुरे उद्यान हुँदै दाउन्ने कैलाससम्म गोरेटो बाटो निर्माणमा श्रमदान गर्ने अभियन्ताहरूलाई साे अवसरमा सम्मान गरिएको हो।















